सुर्खेत। कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ। मङ्गलवारबाट शुरु भएको परीक्षाको दोस्रो दिन बुधवार ऐच्छिक नेपाली विषयको परीक्षा सम्पन्न भएको छ।  यो भिडियो हेर्नुहोस्।

 

कोरोना कहरका बीच राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरूको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो। 

यसपटकको परीक्षामा बोर्डले तयार पारेका प्रश्नपत्र भने परीक्षा केन्द्रमा इमेल मार्फत पठाउने व्यवस्था गरिएको सूर्यज्योति माध्यामिक विद्यालय मेहेलकुना सुर्खेतका प्रधानाध्यापक हिक्मत रोकाले बताए। बोर्डले परीक्षा शुरु हुनुभन्दा १५ मिनेट पहिले प्रश्नपत्र इमेल मार्फत पठाउने र परीक्षा केन्द्रमै प्रिन्ट गरेर विद्यार्थीलाई दिइने गरेको रोकाको भनाई छ। 

प्रधानाध्यापक रोकाले स्वास्थ्यका आवश्यक मापदण्ड अपनाई परीक्षा सञ्चालन गरिएको बताए। उनका अनुसार परीक्षार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै परीक्षा केन्द्रमै हेल्थ डेस्कको स्थापना समेत गरिएको छ।

सम्भावित कोरोना सङ्क्रमणको जोखिमबाट बच्न एउटा बेञ्चमा एकजना मात्र परीक्षार्थी बस्ने व्यवस्था मिलाइएको छ भने हरेक परीक्षार्थीले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ।

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अङ्कका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अङ्क कक्षा ११ को र २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिने छ ।

कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।