सल्यान। सल्यान सदरमुकाम खलङ्गा बजारदेखि कच्ची सडक हुँदै २४ किलोमिटर पश्चिम गुडेपछि कुपिण्डे दह पुगिन्छ, पछिल्लो समय कुपिण्डे दहको ठाउँमा कुपिण्डे तालको शब्दावली प्रयोग गर्न थालिएको छ।

कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्ने यो दह आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय बन्दै गइरहेको छ। कुपिण्डे तालको धार्मिक महत्व भएकै कारण यहाँ धार्मिक पर्यटक उल्लेख्य मात्रामा आउने गरेका छन्।

झट्ट हेर्दा नेपालको नक्सा जस्तै देखिने कुपिण्डे ताल ३४ मिटर गहिरो रहेको छ। २३.५३ हेक्टर क्षेत्रमा फैलिएको कुपिण्डे तालको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ३८ मिटर रहेको छ। कुपिण्डे ताल समुन्द्र सतह देखि ११२० मिटर उचाइमा रहेको छ।

कुपिण्डे ताललाई रङ्ग बदल्ने तालको रुपमा समेत चिनिन्छ। कुपिण्डे तालले वर्षमा ३ पटक रङ्ग बदल्ने स्थानीयहरु बताउँछन्। वर्षा, हिउँद र गर्मीयाममा तालले रङ्ग बदल्ने विश्वास गरिन्छ। आश्चर्यलाग्दो कुरा के छ भने वरिपरि जङ्गलले घेरिए पनि तालमा पात भने भेटिदैनन्। यहाँ पात झर्यो कि चराले टिपिहाल्छन् भन्नेहरू पनि छन्।

कुपिण्डे तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जान्छ ।

हरियो जंगलले घेरेको यो तालको नजिकै बराहदेव मन्दिर छ, जहाँ मंसिर शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ। कुपिण्डे तालको भ्रमण गर्ने भक्तजनहरू धर्म र सौन्दर्य दुवैको आनन्द लिएर फर्कन्छन् ।

यो दह कसरी बन्यो ? वैज्ञानिक तथ्य खासै नसुनिए पनि किंवदन्ती भने रोचक छ। कथा अनुसार, दह बन्नुअघि यो ठाउँमा बस्ती थियो। बस्तीमा एक दिन एकजना साधु बास माग्न पुगेछन् तर कसैले बास दिन मानेनछन् । अन्त्यमा एक वृद्धाले बास त दिइन तर उनीसँग साधुलाई दिने खानेकुरा भने केही रहेनछ।

भोलिपल्ट बिहानै ती साधुले वृद्धालाई भनेछन्, “म साधुको भेषमा आएको कैलुबराह हुँ । अरुलाई बास नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छ।” अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै साधुले भनेछन्, “त्यो पहाडमा जाऊ, हिँड्दा बीचमा पछाडि फर्किएर नहेर्नू ।”

साधुले भनेझैं वृद्धा पहाडको टुप्पोमा पुगेर फर्केर हेर्दा गाउँ त दह बनिसकेछ। त्यसपछि नै यो ठाउँमा बराहको पुजाआजा गर्न थालिएको विश्वास गरिन्छ। त्यसो त सन्तान नभएका दम्पत्तिहरुले कुपिण्डे दह पुगि बराहको पुजा गरे सन्तान लाभ हुने विश्वास समेत गरिन्छ। राम्रो मनले कुपिण्डे ताल पुगी बराहको पुजाआजा गरे मनले सोचेको पुराहुने स्थानीयहरु बताउँछन्। तालमा पर्यटकहरुलाई लक्षित गर्दै पछिल्लो समय डुंगा सवार गर्ने व्यवस्था समेत मिलाईएको छ।

धार्मिक पर्यटनको केन्द्र बन्दै गएको कुपिण्डे तालको संरक्षण, व्यवस्थापन र प्रचारप्रसार गर्न सके वनगाड कुपिण्डे नगरपालिका, कर्णाली प्रदेश र देशले नै राम्रो आर्थिक लाभ लिन सक्छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।