मेहेलकुना। शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय उद्घाटन गरिएको छ। बुधवार गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले गुर्भाकोट ८ मा रहेको सहकारीको मुख्य कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई संवोधन गर्दै नगर प्रमुख पुनले नगरपालिकाले सहकारी ऐन बनाइसकेको र नियमावली बनाउने प्रक्रिया शुरु भएको जानकारी दिए। नगरपालिकाले बनाएको सहकारी ऐनमा टेकेर निर्माण गरिने नियमावली बनिसकेपछि नगरपालिका भित्रका सहकारीहरूसँग आवश्यक सहकार्य गर्न सहज हुने पुनले बताए।

कोभिड १९ का कारण बेरोजगार युवाहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकोले नगरपालिकाले सञ्चालन गर्ने युवा स्वरोजगार र उद्यमशीलताका क्षेत्रमा नगरपालिका र सहकारीबीच समन्वय र सहकार्य हुनसक्ने नगरप्रमुख पुनको भनाई थियो।

मुख्य कार्यालय उद्घाटन समारोहलाई विवाद समाधान समितिका संयोजक देब बहादुर खत्री, लेखा समितिका संयोजक गोविन्द प्रसाद पौडेल र जिल्ला बचत संघका लेखा संयोजक देवेन्द्र शाह समेतले सम्बोधन गरेका थिए।

पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेका तीनओटा बचत तथा ऋण सहकारीहरुको एकीकरण पछि शुभ बचत तथा ऋण सहकारी बनेको हो। नमुना बचत तथा ऋण सहकारी संस्था, जनजागरण बचत तथा ऋण सहकारी संस्था र जीवन सहारा बचत तथा ऋण सहकारी संस्था एकीकरण भई शुभ बचत तथा ऋण सहकारी संस्था बनेसँगै यो पूर्वी सुर्खेतको सबै भन्दा ठुलो बचत तथा ऋण सहकारी संस्था बनेको छ। 

एकीकरण पछि संस्था सञ्चालनका लागि याम बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। समितिको उपाध्यक्षमा पहलमानसिं घर्ती, सचिबमा मेघराज शर्मा, कोषाध्यक्षमा कृष्ण प्रकाश आरसी चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा मनिराम शर्मा, माया गाहा, भिमबहादुर गरंजा, तुल्सी शर्मा, हरिमाया घर्ती, शेरबहादुर कामी र अनिता पौडेल रहेका छन्।

संस्थाले मुख्य कार्यालय र सेवा केन्द्रहरूबाट आफ्नो एकीकृत कारोबार शुरु गरिसकेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।