कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकास्थित आफ्नै निवासमा शनिवार आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा भट्टले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माण कार्यका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताए।

दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन क्षेत्र मात्रै १२ किलोमिटर बढी पर्ने भएकाले भारतले सहमति गर्न नमानेको र मायापुरीमा सुक्खा बन्दगाह बनाउनका लागि भारत सहमत भएको उनले बताए। 

महाकाली नदीमा बन्न लागेको छ लेनको पुल नजिकैको क्षेत्रमा बन्दगाह निर्माण हुने उनले बताए। सुक्खा बन्दगाहसँग जोडिएको क्षेत्रलाई क्रसबोर्डर इकनोमिक करिडोर’का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि भट्टले उल्लेख गरे ।

यो बन्दगाह भारतको नयाँदिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको चर्चा गर्दै उनले ‘एशियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताए। भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग (कनेक्टिभी) दिने भएपछि महाकाली नगरपालिका– १ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइन लागेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले गौरी सामुदायिक वनमा स्थलगत निरीक्षणसमेत गरेका छन् ।


तपाईंको प्रतिक्रिया लेख्नुहोस्।