सुर्खेत। भेरीगङ्गा नगरपालिकामा समुदायस्तरमा सरसफाइ तथा स्वच्छता सामाग्री वितरण गरिएको छ। युनिसेफको आर्थिक सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा भेरीगङ्गा ११ को राताचौर र भेरीगङ्गा ९ को आर्ने टोलमा बुधवार सामाग्री वितरण गरिएको हो।


कर्णाली प्रदेशमा कोभिड १९ तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत समुदायमा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको सुन्दर नेपाल संस्था सुर्खेतले बताएको छ। संस्थाका अनुसार युनिसेफको आर्थिक सहयोगमा २५ घरधुरीलाई बाल्टिन, डस्टबिन, पानी, स्यानीटाइजर तथा पानी शुद्धिकरण गर्ने सामाग्रीहरू समुदायमा वितरण गरिएको हो। कार्यक्रममा सरसफाइ तथा स्वच्छता सामाग्रीको प्रयोग विधि र कोभिड १९ को सम्भावित जोखिमबाट बच्ने उपायबारे समेत स्थानीयलाई जानकारी गराइएको थियो।

दुवै समुदायको सामाग्री वितरण कार्यक्रम भेरीगङ्गा ११ का वडाअध्यक्ष तिलकराम डाँगी र भेरीगङ्गा ९ का वडाअध्यक्ष लछुमण रानाको उपस्थितिमा गरिएको थियो। स्वच्छता सामाग्री वितरण कार्यक्रममा सुन्दर नेपाल संस्थाका कर्मचारी कृष्ण लम्सालले राताचौरमा र उमेश कँडेलले आर्ने टोलमा संवाभित कोभिड १९ को सङ्क्रमणबाट बच्ने तरिका र पानी शुद्धिकरण गर्ने विधिबारे भनाई राखेका थिए। 

युनिसेफको सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा सञ्चालित “कोभिड–१९ तयारी तथा प्रतिकार्य परियोजना” सुर्खेतको भेरीगङ्गा नगरपालिका लगायत कोभिड–१९ प्रभावित ठाउँका क्वारेन्टाइन, आइसोलेसन र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा कोरोना रोगको संक्रमण रोक्न र बच्नको लागि संक्रमण रहित हात धुने स्थल, अन्य सामग्रीहरू वितरण तथा समुदाय स्तरमा  स्वच्छता प्रबर्द्धन कार्यक्रम कर्णाली प्रदेशका तिन जिल्ला सुर्खेत, दैलेख र सल्यानका छ ओटा स्थानीय तहहरूमा भइरहेको छ।


२०५३ सालमा सुर्खेतमा स्थापना भएको सुन्दर नेपाल संस्था विशेष गरी कर्णाली प्रदेशमा सामुदायिक विकासका क्षेत्रमा क्रियाशील छ। नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ र अन्य विपद व्यवस्थापनका क्षेत्रमा पनि सुन्दर नेपालले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।  

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।