काठमाडौं । कोरोना भाइरसलाई जितेर फर्किएकी प्रसिद्धी श्रेष्ठले अस्पतलामा रहँदा आफूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट सम्मान र सद्भाव पनि उत्तिकै पाएको बताएकी छन् ।

२७ दिन लामो अस्पताल बसाइका क्रममा आफूले स्वास्थ्यकर्मीबाट पेशागत मात्र नभई व्यक्तिगत सद्भाव पनि उत्तिकै पाएको उनले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित कोरोना ब्रिफिङ्गमा शनिबार (आज) आफ्नो अवस्थाबारे जानकारी दिन उपस्थित भएकी उनले कोरोना संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताइन् ।

उनले भनिन्, ‘कोरोनाको संक्रमण भयो भन्दैमा हारेस् खानु हुँदैन, तर आत्मबल भने बलियो बनाउनुपर्छ । केही हुन्न ।’ कोरोना संक्रमण देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी उनी आज पूर्ण स्वास्थ्य लाभ लिएर घर फर्किएकी हुन् ।

उनी फ्रान्सबाट कतार हुँदै गएको चैत ४ गते नेपाल आएकी थिइन् । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी चैत १० गते अस्पताल भर्ना भएकी थिइन् । उनी नेपालमा दोस्रो कोरोना संक्रमित थिइन् भने निको भएर घर फर्किने दोस्रै व्यक्ति हुन् ।

हालसम्म नेपालमा ३० जना कूल संक्रमितमध्ये २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।