डा. राजेन्द्र पङ्गेनी पेशाले क्यान्सर बायोलोजिस्ट हुन्। स्याङ्जा, वालिङका स्थायी बासिन्दा डा पङ्गेनीले वालिङबाट माध्यमिक तहको पढाई पछि भारतको मुम्बईबाट स्नातक तह, बेलायत बाट स्नातकोत्तर र विद्यावारिधीको अध्ययन पश्चात हाल अमेरिकाको उत्कृष्ट मध्यको एउटा अस्पताल तथा अनुसन्धान केन्द्रमा वैज्ञानिकको रुपमा काम गरिरहेका छन्। डा. पङ्गेनीको परिचय विज्ञका रुपमा मात्र नभई सामाजिक सेवामा समेत छ। अध्ययन र अनुसन्धानका क्रममा लामो समय देश बाहिर बसेका पङ्गेनीलाई देशको मायाले सँधै तानिरहन्छ। आफ्नो नाभि गाडिएको माटोमै केही गर्ने सोच उनमा धेरै पहिले देखि आएको हो। त्यही सोचका कारण उनले केही साथीहरूसँग मिलेर गतवर्ष देखि नेपाल फर्कौं महाअभियान सुरु गरे। यो अभियान अहिले विदेशमा रहेका नेपाली र विदेशबाट स्वदेश फर्किएका नेपाली बीच सम्पर्क, समन्वय र सहकार्यको माध्यम बनेको छ। नेपाल फर्कौं महाअभियानको प्रारम्भिक सोच र  यसले गर्ने कार्यबारे यसपटक न्यूजपाटीले नेपाल फर्कौं महाअभियानका प्रमुख अभियन्ता डा. पँगेनीसँग संवाद गरेको छ।


नेपाल फर्कौं महाअभियान कस्तो अभियान हो?

नेपाल फर्कौं महाअभियान सम्पूर्ण नेपालीहरूको एउटा साझा अभियान हो। यो अभियान विदेशबाट नेपाल फर्किनेहरूको मात्र अभियान होइन। यो अभियान नेपाल फर्किन चाहने, नेपाल फर्किसकेका, कुनै परिस्थितिले गर्दा नेपाल फर्किन नसके पनि नेपालको लागि केही गर्न चाहने तथा नेपालमै बसोबास गरिरहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने र आफ्नै गाउँ ठाउँमा फर्केर केही गर्ने वातावरण निर्माण गर्ने सशक्त मुभमेन्ट हो। विदेशबाट फर्केर कैयौँ नेपालीहरूले आफ्नै बलबुतामा केही नगरेका होइनन्, कतिपयले त एकदम प्रेरणादायी तथा उदाहरणीय काम पनि गरेका छन्। तर सामूहिक रुपमा अलिकति धक्का नदिने हो भने हामीले सोचे जस्तो परिवर्तनको नहुने देखिएकोले र देशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास बिस्तारै हराउँदै गएकोले अब संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो पुस्ताले सामूहिक रुपमा मिलेर विदेशमा सिकेका अनुभव, सीप र विज्ञतातालाई आफ्नै देशमा सदुपयोग गर्न सकिने एउटा प्लेटफर्म निर्माण गर्नको लागि नेपाल फर्कौं महाअभियानको सुरुवात गरेका हौँ।

 नेपाल फर्कौं महाअभियानको सोच कसरी आयो तपाईंलाई?

सन् २०१० मा म बेलायतमा पढ्न जाँदा अध्ययन पछि नेपाल नै फर्किन्छु भन्ने थियो, तर म फर्किन्छु भन्ने कुरामा मेरा कैयौँ आफन्त, साथीभाइ र परिवारले नै पूर्णरुपमा विश्वास गरिराख्नु भएको थिएन। साथै बेलायतमा विद्यावारिधीको अध्ययन गर्दा होस् वा अहिले त्यसपछि को अनुसन्धानको क्रममा अमेरिकामा होस्, सैयौँ नेपालीहरूसँग भेटघाटका क्रममा अन्तरक्रिया हुँदा नेपाल फर्किन चाहेर पनि नेपालको बेथिति र अन्य समस्याका कारणले एक्लै केही गर्न नसकिने सोचेर फर्किन नसकेको बताउने गर्थे। त्यसैले हामी मिलेर फर्किने योजना बनाउने छलफल हुँदै थियो। हामी केही साथीहरूले अब नेपाल फर्कौं महाअभियानको सुरुवात गर्नु पर्ने र संसार भरिका नेपालीहरू आफ्नो परिस्थितिले साथ दिएसम्म नेपाल मै फर्किएर सामूहिक रुपमा केही गर्ने प्लेटफर्म निर्माण गर्नु पर्ने बारे छलफल गर्दै थियौँ। त्यसैबेला हामीले लामो समय बेलायतमा बसोवास गरेर स्वदेश फर्किनु भएका पूर्व पत्रकार, कवि एवं अहिले साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई समेत यो महाअभियानको सोच बारे बतायौँ। उहाँले यो महाअभियान अत्यन्तै राम्रो हुने भन्दै नेपाल फर्कौं महाअभियानका बारेमा एउटा लेख समेत लेखिदिनु भयो। उहाँको लेख प्रकाशन भएसँगै हामीलाई विदेशी भूमिमा रहनुभएका थुप्रै नेपालीहरूसँग सम्पर्क गर्दै अभियान अगाडि बढाउन सहयोग मिल्यो।

यो महाअभियान शुरु भएयता यहाँहरूले हासिल गरेका उपलब्धिहरू के के हुन?

यसका दुईवटा पाटा छन्ः पहिलो, आन्तरिक रुपमा हामीले एकदम सुन्दर तरिकाले व्यवस्थापन गरिरहेका छौँ। एउटा सानो फारम भरेर यो अभियानमा जोडिनु भएका ५०० भन्दा बढी साथीहरूलाई हामीले डेटाबेस र फेसबुकको क्लोज्ड ग्रुपमा जोडेर नियमित छलफल चलाइरहेका छौँ। यसको साथसाथै हामीले सामाजिक सञ्जाल र महाअभियानको वेबसाइट मार्फत हाम्रो गतिविधिहरूको जानकारी दिने र अन्य आम नेपालीहरूसँग निरन्तर संवाद गरिरहेका छौँ।

दोश्रो, हामीले प्रत्येक महिना देश विदेशमा रहेका साथीहरू जोडिन मिल्ने गरि खुला कन्फरेन्स कल मिटिङको आयोजना गर्दै आएका छौँ। उक्त मिटिङमा नेपालमा सामूहिक रुपमा गर्न सकिने उद्यमशीलता सम्बन्धी छलफलहरू गर्छौं।। देश फर्की सकेका कैयौँ साथीहरूको अनुभव सुन्ने, सिक्ने, त्यही अनुसारको योजना बनाएर तयारी गर्ने वातावरणको सुरुवात गरेका छौँ। सुदूरपश्चिमका साथीहरू मिलेर इनभेस्टमेन्ट कम्पनीको निर्माण गरेर युवाहरूलाई सुरुवाती चरणमा केही व्यवसायको लागि ऋण दिने कामको थालनी गर्न लाग्नु भएको छ भने विश्वका विभिन्न देशका साथीहरू मिलेर विश्व स्तरीय शैक्षिक तथा अनुसन्धान केन्द्र खोल्ने बारे छलफल अगाडि बढाईरहेका छौँ। यी त १/२ वटा उदाहरण मात्र हुन्। कैयौँ साथीहरू नेपाल फर्केर राम्रा कामहरू सुरु गर्नु भएको छ। उहाँहरु सबैलाई एउटै छाता मुनि जोडेर एक अर्कालाई सहयोग गर्ने प्लेटफर्मको निर्माण गरेका छौँ। यस प्लेटफर्मलाई जति सक्दो बलियो र विस्तृत गर्दै लैजाने नै हाम्रो उद्देश्य हो।

यो महाअभियानले नेपालीहरूको आर्थिक उन्नतिका सम्बन्धमा मात्र काम गर्छ कि सामाजिक राजनीतिक रूपान्तरणमा पनि काम गर्छ?

यो कुनै क्षेत्रगत रुपमा केन्द्रित अभियान होइन, विश्वका कुनै पनि कुनामा रहेर शिक्षा, सीप, अनुभव आर्जन गर्नु भएका वा एउटा तहको आर्थिक व्यवस्थापन गर्नु भएका नेपालीहरूले देश फर्केर, अझ सकेसम्म त आफ्नै गाउँमै फर्केर जुन सुकै क्षेत्रमा पनि योगदान दिन सकारात्मक भूमिका खेल्न सक्छन् भन्ने हो। यसको लागि उनीहरूलाई सघाउन हामीले सञ्जाल निर्माण गरेका हौँ। त्यसैले यो आर्थिक, सामाजिक र राजनीतिक जस्ता सबै क्षेत्रसँग सम्बन्धित छ भन्न सकिन्छ।

तपाईंहरू मध्ये कतिको राजनीतिक संलग्नताका कारण पनि हुनसक्छ, यो कुनै पार्टी विशेषको अभियान हो पनि भन्ने गरिन्छ नि?

यो प्रश्नको लागि धन्यवाद दिन चाहन्छु । हामी विश्वास दिलाउन चाहन्छौँ, यो कुनै पार्टी विशेषको अभियान हुँदै होइन, यो एकदम स्वतन्त्र, हामी सबैको साझा अभियान हो, यो अभियानमा जोडिनु भएका सैयौँ साथीहरू कुन पार्टीसंग आस्था राख्नु होला भनेर न त कुनै खोजनीति नै गर्न सम्भव छ, न त त्यस प्रकारको साँघुरो सोचाई राखेर अगाडि बढ्न नै सम्भव छ। हाम्रो डेटाबेसमै प्रत्यक्ष जोडिनु भएका विश्वभरिका ५०० भन्दा बढी साथीहरूले पक्कै पनि बिभिन्न पार्टीमा आस्था राख्नु हुन्छ नै, त्यसैले यो कुनै पार्टी विशेषको अभियान हुँदै होइन, हामीले यस्तो हुन पनि दिने छैनौं।

रह्यो राजनीतिक संलग्नताका कुरा, हामो डेटाबेस निर्माणको शिलशिलामा नेपालमा कुन क्षेत्रमा योगदान दिन चाहनु हुन्छ भनेर एउटा प्रश्न राखेका छौँ। जसमा हामीले  शिक्षा, पर्यटन तथा हस्पिटालिटि, सामुदायिक र सरकारी सेवा, सूचना प्रबिधि र डेटा साइन्स,  स्वास्थ्य, कृषि र सुसंस्कृत राजनीति गरि ७ वटा विकल्प राखेका छौँ। त्यसैले यो अभियानमा जोडिएका साथीहरूको नेपाल फर्केर राजनीतिमा जोडिने चाहाना भए उहाँहरु स्वयंले उपयुक्त दल रोज्न सक्नुहुन्छ या नयाँ संगठन निर्माण गर्न सक्नुहुन्छ यो उहाँहरुको ऐच्छिक विषय हो। त्यसैले अभियानको डेटाबेसमा राजनीतिको क्षेत्रमा म नेपाल फर्किएर केही योगदान गर्न चाहान्छु भन्नु कुनै दल विशेषको हुनु होइन। हाम्रो उद्देश्य हामीसंग जोडिएका साथीहरूलाई माथि उल्लेख गरिएको क्षेत्रगत रुपमा पनि जोड्न सकियोस भन्ने हो।

 के यो महाअभियान गैरसरकारी संस्था जस्तै काम गर्ने संस्थाको रुपमा विकास हुँदैछ?

कैयौँ साथीहरूले हामीहरुलाई त्यस प्रकारको सल्लाह नदिएका पनि होइनन्, तर हामीहरु के कुरामा प्रष्ट छौं भने यो महाअभियान एउटा गैर सरकारी संस्थाको रुपमा दर्ता गरेर वा सानो कार्यालय खोलेर पुरा हुदैन। हामीले यो अभियानलाई एउटा ऐतिहासिक र प्रत्येक नेपालीले गर्ब गर्न लायक मुभमेन्ट बनाउने दिशामा लगिरहेका  छौँ। यसले लाखौं नेपालीहरूलाई कहिँ न कहिँ जोडिन मिल्ने गरि सैयौँ हजारौं संस्थाहरु जन्माउने छ तर एउटा संस्थाको रुपमा मात्र विकास हुने त प्रश्न नै आउदैन। त्यसैले कुनै पनि नेपालीले आफुलाई चाहिएको सपोर्ट प्राप्त गर्न सक्ने, बलियो र दिगो अभियानकै रुपमा लैजाने हाम्रो प्रतिबद्धता हो।

 नेपाल फर्कौं महाअभियानले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन गर्ने पहलहरु के के हुनसक्छन?

पहिलो कुरा त हामीले, हामीसँग जोडिएका प्रत्येक साथीहरूको केही विवरणका साथै उहाँहरुको विज्ञता र योग्यता, सीप, र क्षेत्रगत अनुभव आदिको विवरण जम्मा गरेका छौं जसले गर्दा कुनै साथीहरूलाई कुनै प्रकारको सहयोग आबश्यक परेको खण्डमा हामीले अन्य साथीहरुसँग जोडिदिन सक्ने भयौं। दोश्रो पेशागत वा आफ्नो क्षेत्रकै साथीहरुसँग जोडेर केही गर्न चाहने साथीहरूलाई एकै ठाउँमा ल्याउने काम गरिरहेका छौँ। यी बाहेक हामीले मिलेर सामूहिक रुपमा केही गर्ने तयारी गरिरहेका छौं, काठमाडौँमा हाम्रो संस्कृति झल्काउने कम्युनिटी सेन्टर सहितको अर्गानिक रेस्टुराँ, सुदुरपश्चिमका साथीहरू मिलेर उद्दमशील  बन्न चाहने युवाहरूलाई सहयोग गर्नको लागि इनभेस्टमेन्ट कम्पनि तथा पोखराको वरिपरि अनुसन्धानमा आधारित शैक्षिक केन्द्र खोल्नको लागि छलफलको क्रममा छौँ। हामी छलफलको क्रममा रहेका यस्ता प्रोजेक्टहरुको नेतृत्व लिएर आफ्नै क्षेत्रमा केही गर्न चाहेको खण्डमा पनि हामीले एक अर्कालाई सहयोग त गर्ने नै भयौं। नेपालमा फर्केर केही गर्न चाहने साथीहरूलाई आफुले लगानी गर्ने तथा कुनै यस्तै संस्थाहरुमा आबद्ध हुने सजिलो मध्यम बनाउदै छौँ। संसारको जुन सुकै कुनामा रहेको नेपालीले देश फर्किन चाहेको खण्डमा होस् वा नेपालमै रहेको कुनै नेपालीलाई विदेशको सीप, अनुभवको आबश्यकता होस, उनीहरूलाई हाम्रो अभियान सजिलो माध्यम बनोस भन्ने हाम्रो अर्को चाहना हो।

नेपाल फर्कौं महाअभियान सामूहिक उद्यमशीलतासँग समेत जोडिएको विषय हो?

एकदम सान्दर्भिक प्रश्न गर्नु भयो। हो, हामीले यो महाअभियानलाई सामूहिक उद्यमशिलतासँग जोडेका छौँ। जसले गर्दा विदेशबाट फर्किन चाहने हजारौं साथीहरू एकै ठाउँमा होस् वा एक अर्काबाट सिकेर कहिँ न कहिँ लगानी गर्ने र आबद्ध भएर आर्थिक रुपमा नेपालमै बसेर सबल हुन सक्ने बातावरण बनोस। साथै आफ्नै गाउँ ठाउँमा गर्न सकिने अन्य कैयौँ सम्भावनालाई पहिल्याउने कामहरू पनि गरिरहेका छौँ।

 नेपाल फर्कौं अभियानका आगामी कार्यक्रम या योजना के के हुन?

कयौं साथीहरूले नेपाल फर्कौं महाअभियानमा जोडिनु भनेकै नेपाल फर्किहाल्ने हो भन्ने सोच्नु भएको छ, तर हामीहरुको उद्देश्य सबै व्यक्तिलाई नेपाल फर्किहाल्नुस भन्ने होइन, फर्किन मिल्ने साथीहरू फर्किने र परिस्थितिले वा आफुले नचाहेर नमिल्ने साथीहरूलाई विदेशमा बसेर पनि नेपाल फर्केका साथीहरूलाई सहयोग गर वा आफ्नै गाउँ ठाउँमा केही गर भन्ने हो। हाम्रो योजना हाम्रो उदेश्यमै केन्द्रित हुने हो। हामीले आफ्नै गाउँ ठाउँमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता जस्ता क्षेत्रहरुमा काम गर्ने कुरा त छदै छन्, तर त्यो भन्दा महत्वपुर्ण भारत, खाडी मुलुक देखि विश्वका विभिन्न देशहरुमा रहेर कृषि, डेटा साइन्स, पर्यटन, शिक्षा, स्वस्थ जस्ता क्षत्रहरुमा विज्ञता हासिल गरेका, अन्य साधारण सीप सिकेका तथा कामको अनुभव हासिल गरेका हजारौं साथीहरू एउटा संजालमा बाँधिएर आफ्नै गाउँ ठाउँमा गएर स्थानीय रुपमै आफ्नो सीप, अनुभव, विज्ञता सदुपयोग गर्ने उदेश्यलाई मुर्त रुपमा दिन सक्नु हो। कैयौँ साथीहरू नेपाल फर्किसकेपछि निरास भएर फेरि विदेश फर्केका थुप्रै उदाहरण छन्, त्यसैले नेपाल फर्किएपछि आइपर्ने बाधा, अड्चनहरुलाई सामूहिक रुपमा हल गर्ने बलियो प्लेटफर्म बनाउने हाम्रो योजना हो। जब हजारौं साथीहरू संगै जोडिएर एकार्कालाई चाहिने सपोर्ट प्राप्त गर्ने बलियो थलोको निर्माण गर्नेछौं, त्यसपछि हजारौंको संख्यामा नेपाल फर्केका साथीहरूले आफ्नै गाउँ ठाउँमै गएर स्थानिय जन प्रतिनिधिहरुलाई सघाउनेछन, आफै राजनीतिमा होमिनेछन वा उद्यमशिल बन्नेछन, ढिलो चांडो हाम्रा गाउँ घरको, देशको मुहार पक्कै पनि फेरिनेछ भन्ने हाम्रो विश्वास हो। त्यसैले हाम्रा योजनाहरु यसको लगि आधार तयार गर्ने मै केन्द्रित रहनेछ।

नेपाल फर्कौं महाअभियानबारे थप जानकारी  अभियानको वेबसाइट https://www.nepalfarkaun.org/ मा उपलब्ध छन। महाअभियानका प्रमुख अभियन्ता डा. पंगेनीलाई  ट्वीटरमा https://twitter.com/Rajendra078  फलो गर्न सकिन्छ।

यो भिडियो पनि हेर्नुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।