मानव सभ्यताको विकाससँगै संसारमा विभिन्न किसिमको वैज्ञानिक आविष्कार र चमत्कार भएका छन् । सूचना प्रविधिमा आएको पछिल्लो चमत्कारले मानिसको जीवन साथीको रुपमा कम्प्युटर, मोबाइल, ल्यापटप प्रयोग हुन थालेका छन्। सूचना प्रविधिको कारण संसार एउटा सानो गाउँमा परिणत भइसकेको छ। मानिसहरू लाई सूचना प्रविधिले दास नै बनाई सकेको छ। चौबीसै घण्टा जसो लगभग मानिसहरू कम्प्युटर तथा मोबाइलको सेवा उपभोग गरिरहेका हुन्छन्। सूचना प्रविधिको कारण संसारका सम्पूर्ण गतिविधि र घटना क्रम सँग एक थलोमा बसेर वा घुमेर तत्काल परिचित हुन सक्छन्। सूचना प्रविधिको चमत्कारले गर्दा कम्प्युटर र मोबाइलमा मानिस कैद भइसकेको छ, सँगै सूचना प्रविधिले यो संसारमा असम्भव केही छैन भन्ने कुरालाई थप पुष्टि गरेको छ ।

हिजोआज संसारका अधिकांश मानिसको रोजाईमा सामाजिक सञ्जाल पर्ने गरेको छ। सार्वजनिक स्थान घर, स्कुल, यातायात, शौचालय जताततै जति खेर पनि सामाजिक सञ्जाल चलाइरहेको पाइन्छ। त्यसैगरी मानिसहरूमा मोबाइलको पहुँच बढ्दै गएको छ। नयाँ–नयाँ ब्रान्डेड मोबाइलको मूल्य पहिलेको भन्दा निकै सस्तो हुँदै गएको छ। यतिखेर नेपालमा सबैको हात र साथमा मोबाइल भएको र सबैले आफ्नो क्षमता योग्यता र दक्षता अनुसार फाइदा उठाइरहेको र सूचना प्रविधि तर्फ आकर्षण बढ्दै गएको देखिन्छ। त्यसैले त आजको युगलाई कम्प्युटरको युग, सामाजिक सञ्जालको युग तथा विज्ञानको युगको रुपमा चित्रित गरिदै आइएको छ। यसैको परिणाम स्वरुप आजको विश्व साँघुरो हुँदै गएको अनुभूति हामी सबैले गरिराखेका छौ। विश्वको कुनै एक कुनामा बसेको व्यक्तिले अर्को अर्थात ठिक विपरित कुनामा बसेको व्यक्ति सँग सजिलै सञ्चार गरिराखेको हामीले सुन्ने र देख्ने मात्र होइन आफै अनुभूति गरिरहेका छौ। हामी नेपालमै बसी विश्व जगतमा घटेका घटनाहरू सुन्ने देख्ने तथा तत्काल आफ्नो प्रतिक्रिया दिने हैसियतमा पुगेका छौ भने अर्को तिर आफ्नो व्यक्तिगत जीवनमा घटिरहेका घटनाहरूलाई विभिन्न सामाजिक सञ्जालका प्रविधि मार्फत संसार सामु बाँडी त्यसको प्रतिक्रिया पनि देखिरहेका छौ।

सामाजिक सञ्जाल जति लोकप्रिय आजभोली अरु सायदै होला। यसको विकास बदलिदो बेफुर्सदी आधुनिक समाजको मागको केही हद सम्म परिपूर्तिको निम्ति गरिएको हो। तर पछिल्लो समय यसको सदुपयोग सही तरिकाले भएको पाइदैन। बेलाबेलामा विभिन्न सामाजिक सञ्जालका फाउण्डर तथा सि.इ.ओ.हरु विवादमा आउनु तथा तिनीहरूले विभिन्न किसिमका स्पष्टिकरणको सामना गर्नुपर्ने अवस्था सिर्जित हुनुका पछाडि पनि यसको सही सदुपयोग नहुनुलाई मानिन्छ। त्यस्तै यति प्रिय सामाजिक सञ्जालले राष्ट्रका मेरुदण्ड तथा कर्णधार युवा वा विद्यार्थी माथि राम्रो सँग नराम्रा प्रभाव पारेको तिर पनि ध्यान दिनु अति आवश्यक छ। विद्यार्थीहरूले सामाजिक सञ्जाल मार्फत जीवन उपयोगी कुरा ग्रहण गर्नु भन्दा जीवनलाई नकारात्मक प्रभाव पार्ने कुराहरू बढि सिकिरहेको देखिन्छ । राम्रा कुराहरू ग्रहण गर्ने र नराम्रा जानकारीहरू मन मस्तिष्कमै घुस्न नदिने काम विद्यार्थीहरूले गर्नुपर्दछ। सामाजिक सञ्जाल फेसबुक, ट्विटर, यु ट्युब मार्फत भविष्यका कर्णधारहरुले उत्कृष्ट सिकाइका कुराहरू सिकेर जीवनलाई सार्थक बनाउनको निम्ति पनि मद्दत लिन सक्छन्। सामाजिक सञ्जालमा फैलिरहेका अनावश्यक र निकृष्ट कुराहरू सिकेर, देखेर वा पढेर जीवनलाई निरर्थक बाट जोगाउन हामी सबै सजग रहन अतिनै जरुरी देखिन्छ। ज्ञानका भोका विद्यार्थीहरूका लागि सामाजिक सञ्जालका साधनहरू निकै प्रभावकारी सावित भइरहेको बुझिन्छ। सूचना प्रविधिले हरेक मानिसले खोजेको सम्पर्क र सम्बन्ध स्थापित गरिदिएको छ। विभिन्न सफ्टवेयर मार्फत आफ्ना कक्षाकार्य तथा गृहकार्य राम्रो सँग समयमै सम्पन्न गर्न सक्षम बनाइदिएको छ। सामाजिक सञ्जालबाट विद्यार्थीहरूले अथाह ज्ञान बटुल्न सक्छन्। यद्यपि लामो समय सम्म कम्प्युटर तथा मोबाइल चलाउँदा दिमागको तनाव घट्नुको सट्टा बढ्न सक्छ भने आँखा लगायतका ज्ञानेन्द्रियहरूलाई पनि आरामको जरुरत पर्छ भन्ने कुरा तर्फ ध्यान जानु अपरिहार्य छ।

पछिल्लो समय विश्वका हस्ती नेताहरूको सूचनाको आधार सामाजिक सञ्जाल बनेका छन्। अमेरिकन राष्ट्रपति, बेलायती प्रधानमन्त्री, जर्मन चान्सलर आदिको सूचना आदान प्रदान सबै सामाजिक सञ्जालबाट नै हुन्छन्। व्यक्तिगत सूचना मात्र होइन समाजका विकृति, विसङ्गति राम्रा नराम्रा कुरा सामाजिक सञ्जालले ओगटेको छ। जसबाट समाज सूचित भएको देखिन्छ। तर सामाजिक सञ्जाललाई कसले कसरी बुझ्यो वा बुझेको छैन भन्ने कुरा महत्वपूर्ण हुन सक्छ। केहीको बुझाईमा यो एउटा तस्बिर राख्ने भाडो हो। भने कसैको बुझाईमा यो कुनै पर्व विशेषका भिडियो आदान प्रदान गर्ने माध्यम हो। तर वास्तविकता अवश्य त्यो मात्र होइन, सामाजिक सञ्जाल भनेको समाजमा भएका राम्रा नराम्रा कुरा प्रवाह गर्ने सामाजिक जालो हो। जहाँ राम्रा कुराहरू मात्र प्रवाहित हुन्छन् भनी सोच्नु गलत हुन सक्छ। यसतर्फ आजको पुस्ताले विशेष ध्यान पु¥याउन जरुरी छ।

कुनै पनि कुराको फाइदा र बेफाइदा दुबै हुन्छ। सदुपयोग गरे राम्रो नतिजा आउँछ भने दुरुपयोग गरेमा दुष्परिणाम देखा पर्छ। सूचना प्रविधिले गर्दा मानिस जाँगरिलो सिर्जनशील बन्दै गएको पनि देखिन्छ भने अर्कोतर्फ यसमा बढ्दै गएको विसङ्गति हेर्दा दिक्क लाग्दो अवस्था पनि आउन थालेको देखिन्छ। यसर्थ हामी सबै सूचना प्रविधि वा सामाजिक सञ्जालको सकारात्मक सदुपयोग गरी आफ्नो जीवन तथा समाजको जीवन लाई सार्थक बनाउन सजग सचेत तथा जिम्मेवार हुन आजको समयको माग हो।

(लेखक जन ज्योती मा.वि.बड्डिचौर, सुर्खेतका भेट प्रशिक्षक हुन्।)

 

 

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।