काठमाडौं।देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ।

गत १९ मंसिरमा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो। त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित सम्झौता गर्नुपर्ने समझदारी भएको थियो।

सम्झौतामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले हस्ताक्षर गरे। सम्झौता अनुसार दुई वर्षभित्र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै टेलिकमले फाइबर बिछ्याउने छ।

त्यस्तै मध्यपहाडी लोकमार्गबाहेक कतिपय स्थानमा हुलाकी मार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमले पाएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।