ललितपुर। नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो। जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

पुलिसको जितमा दुवै गोल सुमन लामाले गरे। खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए। त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन। खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए। खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित भए। पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ। सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।