काठमाण्डौं। साझा पार्टीको युवा सङ्गठन, साझा युवा सङ्गठनले सूचना प्रविधि विधेयक खारेज गर्न माग गरेको छ। सङ्गठनका महासचिव सरोज गौतमले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति मार्फत पारित गरेको सूचना प्रविधि विधेयक अधिनायकवादी भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ब्यक्तिले बोल्ने कुरालाई सरकारले नियन्त्रण गर्ने गरी ल्याइएको उक्त विधेयकले मुलुकलाई उत्तर कोरियाको पथमा पुराउने तयारी स्वरुप आएको विज्ञप्तिमा उल्लेख छ।

वाइडबडी घोटाला, निर्मला हत्याकाण्ड, बालुवाटार काण्ड, नेपाल ट्रस्ट र यती समूह काण्ड जस्ता अनेकौँ अपराधमाथि नेपाली नागरिकको विरोधको आवाजलाई कुण्ठित गर्ने हेतुले सूचना प्रविधि विधेयक ल्याइएको साझा युवा सङ्गठनको आरोप छ।

विज्ञप्तिमा सूचना प्रविधि विधेयकको विरोधमा उत्रिन र संयुक्त आन्दोलनका लागि देश तथा विदेशमा रहेका नेपालीहरूलाई अपिल समेत गरिएको छ।

विज्ञप्तिको पूर्णपाठ:

प्रेस विज्ञप्ति

अधिनायकवादी सूचना प्रविधि विधेयक खारेज गर्न संयुक्त आन्दोलनको अपिल

सरकारले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमार्फत पारित गरेको सूचना प्रविधि विधेयकप्रति साझा युवा सङ्गठनको ध्यानाकर्षण भएको छ। स्वतन्त्र नेपाली नागरिकमाथि गैरजिम्मेवार ढङ्गबाट लोकतन्त्र कुण्ठित गर्दै अधिनायकवाद लाद्ने प्रयास सहित यो विधेयक जारी गरिँदैछ।

समृद्धिको गफमा सीमित सरकार नीतिगत भ्रष्टाचारमा अव्बल बन्दै अधिनायकवाद स्थापित गर्न तल्लिन बनेको छ। वाइडबडी घोटाला, निर्मला हत्याकाण्ड, बालुवाटार काण्ड, नेपाल ट्रस्ट र यती समूह काण्ड जस्ता अनेकौँ अपराधमाथि नेपाली नागरिकको विरोधको आवाजलाई कुण्ठित गर्ने हेतुले सूचना प्रविधि विधेयक लाद्न खोजिँदैछ।

सामाजिक सन्जालमा ब्यक्तिले बोल्ने कुरालाई सरकारले नियन्त्रण गर्ने गरी ल्याइएको उक्त विधेयकले मुलुकलाई उत्तर कोरियाको पथमा पुराउने तयारी गर्दै छ। यसले, भर्खर हुर्किँदै गरेको लोकतन्त्रको हत्या गर्नेछ।

तसर्थ, हामी यसै विज्ञप्ति मार्फत सूचना प्रविधि विधेयक खारेजीको अनुरोध गर्दै देशभरीका आम युवा, अन्य पार्टीका युवा र नेताहरु, पत्रकार, सम्पादक र विदेशका नेपालीहरूलाई समेत शालीन विरोधको लागि आह्वान तथा अपिल गर्दछौँ ।

सरोज गौतम
महासचिव
साझा युवा सङ्गठन

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।