कृष्णप्रसाद भट्टराई जसलाई नेपाली राजनीतिमा किशुनजी भनेर चिनिन्छ। उनी नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। भट्टराई वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। उनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमान्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसद्को तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रिपरिषद्‌मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्व उनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा उनी आफू भने काठमाडौंबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। उनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

स्व. कृष्णप्रसाद भट्टराईको जन्म स्व पिता सङ्कटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो। राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहीँबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा सङ्कटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहीँबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।

गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौँ आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा सङ्कटाप्रसाद भए। सङ्कटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए। यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुन्।

यो हेर्नुभयो?

https://www.youtube.com/watch?v=vpbGSAwhdMw

युवावस्थाः
बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले उनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन।

कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी सोभियत संघ को कम्युनिष्ट पार्टि (Communist Party of the Soviet Union) कि महासचिव निकिता ख्रुश्चेभ (Nikita Khrushchev) को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।

राजनीतिक जीवनः
भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दु युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै संगठनमा लागेका थिए।

नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा संगठन मन्त्रीको पद सम्हालेका थिए।

नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमान्डरका रूपमा काम गरेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा प्रतिनिधि सभाका सभामुखको पदको दायित्व वहन गरेका थिए। २०१५ निर्वाचनमा गोर्खाबाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।

२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो। त्यसपछि पनि पटक पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उद्घाटन गरेका भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।

२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतिमा समर्थन पाएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व गरे। नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित भएपछि उनले २०५३ सम्म सभापतिको पद सम्हाले।

भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि भट्टराईले गरेका थिए।

२०४६ को जनआन्दोलन पछि जनआन्दोलनका बेलाको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा उनी पराजित भए। २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।

भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका थिए। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन भने कहिल्यै रूचाएनन्।

दोश्रो प्रधानमन्त्रीको कार्यकालः
नेपाली काङ्ग्रेसमा पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

जनआन्दोलन २०६३ पछिः
राजतन्त्रबारे भने उनको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उन तत्कालै राजा हटाउने पक्षमा थिएनन्। यद्यपि गणतन्त्रको स्थापना पश्चात् उनी यस विषयमा मौन नै रहे। त्यसो त बीपी सिद्दान्तका साधक जसले कुनै न कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भनेर बारम्बार भन्थे नया राजनीतिक माहोलमा उनका कुरा सुन्न छाडीएपछी उनि मौन रहेको कांग्रेस वृत्तमै बेलाबेलामा चर्चा चल्ने गरेको छ।

ब्यक्तिगत जीवनः
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे। सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन्। अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे। २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए।

कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएको थियो। यिनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

स्वर्गीय कृष्ण प्रसाद भट्टराईको जन्मजयन्तीका अवसरमा विकिपिडियाको सहयोगमा तयार पारिएको सामाग्री

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here