काठमाडौँ । नेपाली कांग्रेसले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि सरकारले गरेका प्रयास अपूर्ण रहेको ठहर गर्दै नागरिकप्रति संवेदनशील हुन आग्रह गरेको छ ।

आज (शनिबार) सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्डमा बसेको पार्टी पदाधिकारी बैठकले उपत्यका लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलालाई कहीँ पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिई सहज र सुरक्षित रुपमा गन्तव्यमा पुग्ने वातावरण मिलाउन अपील गरेको छ ।

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेकोले सरकारको ध्यानाकर्षण गराउने र तत्काल र्पुयाउन आग्रह गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै राहत वितरण कार्यलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गरेको छ ।

सबै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । त्यस्तै कांग्रेसले साना ठूला सबै व्यवसायीहरुले व्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउने निर्णयमा पुग्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै बैठकले विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्च स्तरीय कुटनैतिक पहल बढाउन पनि आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here