काठमाण्डौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। कोभिड-१९ ले सिर्जना गरेको सङ्कटको सामना गर्न उच्च स्तरीय सर्वदलीय संयन्त्र निर्माणका लागि पहल गर्न आग्रह गर्दै बुधबार मिश्रले देउवालाई टेलिफोन गरेका हुन्।

टेलिफोन वार्तामा मिश्रले उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र निर्माणका लागि प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले अग्रसरता लिन देउवालाई आग्रह गरेका थिए। सङ्कटको सामान गर्न सबै मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै मिश्रले समाज र देश नै सङ्कटमा परे राजनीतिक दलहरू स्वतः सङ्कटमा पर्ने बताए।

टेलिफोन वार्तामा देउवाले वर्तमान स्थिति र प्रधानमन्त्रीको उदासीन कार्यशैलीप्रति गम्भिर चिन्ता व्यक्त गरे। उनले सङ्कटको सामना गर्न सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए।

सङ्कटको अवस्थामा सबै मिलेर सरकारलाई नै सहयोग गर्नु सबैको दायित्व हुने भन्दै साझा पार्टीले उच्च स्तरीय सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै आएको छ।
मिश्रले उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रले सरकारका लागि सल्लाहकारको भूमिका मात्र निर्वाह गर्ने र  कार्यकारी भूमिकामा सरकार स्वयं रहने पनि स्पष्ट पारेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here