समाचार

मेडिकल सामग्री खरिद प्रकरण-प्रधानमन्त्रीले किन विवाद भनेर सोध्दा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री मौन

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ? ’ आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए ।

कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्काे आलोचना हुन थालेको छ । त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीको भनाइ छ । ती अनुसार प्रधानमन्त्रीले यो विषयमा झन्डै २० मिनेट बोलेका थिए ।

लकडाउन एक साता लम्ब्याउने र राहत प्याकेज घोषणा गर्ने दुई एजेन्डा मात्र रहेको मन्त्रिपरिषद् बैठक त्यसपछि केही लम्बिएको ती मन्त्रीले सुनाए ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षण र सुरक्षाका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई)लाई खरिदको जिम्मा दिएको थियो।

अन्तर्रा्ष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा तेब्बरमा खरिद गरेको भन्दै चिकित्सक र कतिपय आपूर्तिकर्ताले प्रश्न उठाएपछि अनियमतिताको आशंका गरिएको छ। ‘स्वास्थ्य उपकरणका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् ? भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो ? प्रश्न उठ्नुका कारण के हुन् ? ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकारलाई बदनाम गर्ने नियत पनि यसभित्र छन् कि सरकारकै केही कमीकमजोरी पनि छ ? ’ प्रधानमन्त्रीले संकटका बेला जाने सन्देश सरकार र पार्टीका लागि अर्थपूर्ण हुने स्पष्ट पार्दै यस्तो बेला संवेदनशीलता बुझ्नुपर्ने धारणा राखेका थिए ।

‘धेरै विषय त प्रधानमन्त्रीले के–के बोल्नुभयो बुझ्न सक्ने अवस्था भएन । बैठक कक्षमा मिलाइएको बस्ने व्यवस्था, प्रधानमन्त्रीको दबिएको र सानो आवाजका कारण धेरै विषय नजिक रहेका मन्त्रीबाहेक अधिकांशले बुझ्न सक्नुभएन’, अर्का मन्त्रीले भने, ‘तर, उहाँले खरिद प्रकरणका विषयमा चासो र चिन्ता भने लिनुभयो।’ कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए ।

‘उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि खास कुनै टिप्पणी बैठकमा गर्नुभएन’, ती मन्त्रीको भनाइ थियो, ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो।’ उपकरण खरिदमा भएको ढिलाइबारे प्रधानमन्त्रीसँग यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जिज्ञासा राखेका थिए ।

चैत १३ गते राति मुटुको चाल छिटो चलेपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना हुँदाकै बेला १४ चैतमा प्रधानमन्त्रीलाई भेट्न दाहाल पुगेका थिए ।

दाहालले त्यस बेला स्वास्थ्य उपकरण खरिद प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए । उनको प्रश्न थियो– ‘स्वास्थ्य उपकरण खरिदमा सरकारले किन ढिलाइ गरिरहेको छ ? अहिलेसम्म भएको के छ ? बाहिर कमिसनका कारण प्रक्रियामा ढिलाइ भएको सन्देश किन गइरहेको छ ? ओलीसँगको भेटको अघिल्लो दिन १३ चैतमा दाहालले चिनियाँ राष्ट्रपतिलाई सहयोगका लागि अपिल गर्दै पार्टीका तर्फबाट पत्र पठाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here