समाचार

कोरोना थप फैलन नदिन परीक्षणको दायरा बढाउनुपर्छ : नेता सिंह

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरसको संक्रमण थप फैलन नदिन परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।

‘लकडाउन्’मात्रै पर्याप्त नहुने भन्दै नेता सिंहले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने बताएका हुन् । आइतबार एक विज्ञप्ति जारी गर्दै सिंहले ‘लकडाउन्’को पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै धेरैभन्दा धेरै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी भइसकेको उल्लेख गरेका हुन् ।

उनले सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरेका छन् ।

संकटको घडिमा प्रतिपक्षी कांग्रेस पनि सरकारको साथमा रहेको उनले बताएका छन् । विज्ञप्तिमार्फत् नेता सिंहले विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायतप्रति धन्यवाद ज्ञापन गरे ।

प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, पार्टीका आम कार्यकर्तालाई पनि जनताको सेवामा लाग्न उहाँले अनुरोध गरेका छन् । कोरोनाको जोखिमबाट नेपाल र नेपालीलाई बचाउनका लागि प्रभावकारी र चुस्त कार्ययोजना बनाउन पनि सिंहले सरकारको ध्यानाकर्षण गराएका छन् ।

|तस्वीरमा नेता सिंह। फाइल तस्वीर|

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here