काठमाडौं।सिमाना बन्द गरेर ‘लकडाउन्’ गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी छ।

एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा ‘लकडाउन्’ गरिए पनि मालवाहक गाडी नियमित आइरहेको बताए।

उनले मङ्गलबार मात्र एकैदिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका सातवटा बुलेट, मट्टीतेलको एक ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको बताए।

प्रमुख निरौलाका अनुसार तीन दिन यता सिमानालाई पूर्ण रूपमा बन्द गरेर सवारीसाधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन।

यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८८१ मेट्रिक टन चामल, २४५ मेट्रिक टन मकै र ८१४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here