काठमाडौं।भारतमा नागरिकता कानूनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार (आज)राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी कन्स्टेबल र तीन सर्वसाधारणसहित चार जनाको मृत्यु भएको छ।

कम्तीमा ३७ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यहाँको समाचार संस्था इन्डियन एक्सप्रेसको अनुसार दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानूनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको थियो।

सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै कानूनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप भएको हो। सरकार समर्थकहरूले नागरिकता कानूनको विरोध गरिरहेका मुसलमान समुदायमाथि आक्रामक देखिएका छन्।

सडकमा कतिपय मुसलमानमाथि भीडले सांघातिक कुटपिट गरेका छन्। कतिपय ठाउँमा पेट्रोल बमसमेत प्रयोग गरिएका छन्। वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो। झडपकै क्रममा एक जना व्यक्ति प्रहरीकै अगाडि सडकमा गोली चलाउँदै हिँडेका थिए। यसअघि पनि दिल्लीको सडकमा यस्तो गोलीकाण्ड भएको थियो।

उनलाई तत्काल पक्राउ गरिए पनि सोमबार रिभल्भर बोकेर गोली चलाउँदै हिँड्नेलाई भने पक्राउ गरिएको छैन। उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको अनलाइन पत्रिका ‘स्क्रोल डटइन’ ले लेखेको छ।

यी ठाउँ दिल्लीको केन्द्रबाट करिब १५ किलोमिटर दुरीमा पर्छन्। हिंसा भड्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले उत्तरपूर्वी दिल्लीका विभिन्न स्थानको सेवा बन्द गरेको थियो।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्रले पछिल्लो दुई महिनाभन्दा बढी समयदेखि चलिरहेको नागरिकता कानूनविरोधी प्रदर्शन रोक्न प्रहरीलाई तीन दिनको अल्टिमेटम दिएपछि दिल्लीमा हिंसा भड्किएको स्क्रोलले लेखेको छ।

शनिबार राति जफरावादमा भएको प्रदर्शनपछि उनले उक्त अल्टिमेटम दिएका थिए। करिब पाँच सय जना सहभागी प्रदर्शनमा अधिकांश महिला थिए।

थप तस्वीरहरु :

तस्वीरमा दिल्लीमा सरकार समर्थकद्वारा नागरिकता कानूनका विरोधीहरूमाथि सोमबार आक्रमण। श्रोत : रायटर्स

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here