समाचार

हेलामा मातृभाषा

सरस्वती पूजाको दिन नजिकैको बोर्डिङ स्कुलको प्रिन्सिपलसँग भेटघाटको लागि गएको थिए, भर्खर अक्षराम्भ गराउने बच्चाहरूलाई लिएर धेरै अभिभावकहरू पनि आएका रहेछन्। भिडभाड राम्रै थियो शिक्षक शिक्षिकाहरु व्यस्त थिए, प्रिन्सिपल फुर्सदमा हुने त कुरै भएन। जसरी मध्य वर्षामा कृषकलाई चापाचाप हुन्छ त्यसरीनै सरस्वती पूजाको दिन पनि बोर्डिङ स्कुलहरुमा त्यस्तै हतारो हुन्छ, केही सरकारी विद्यालयहरूमा पनि हुन्छ होला।

व्यस्त प्रिन्सिपलसँग कुरा गर्न केही समय कुर्नु पर्यो। यही मेसोमा केही अभिभावक सँग कुरा गर्दै थिएँ, त्यतिबेला एकजना मेरो चिनजानकी महिला पनि भेटिइन्। उनको घर नजिकै उच्च मा.वि. सम्मको सरकारी विद्यालय र कक्षा दस सम्म पढाइ हुने बोर्डिङ स्कुल पनि थिए। तर ती महिला यहाँ आएको देखेर उत्सुकताका साथ सोधे- तपाईं त्यति टाढाबाट यति सानो बच्चालाई यहाँ भर्ना गर्न आउनु भएको किन? त्यहाँ त झन दुई दुई वटा विद्यालयहरू छन्। उनले भद्र ढङ्गले जवाफ दिइन, ‘छ न त छन नि भएर क्यार्नु राम्रा छैनन्। बोर्डिङ नि छ सरकारी स्कुल नि छ। सरकारीमा पढाउने कुरा भएन, त्यहाँ नेपालीमा मात्र पढाउँछ। अनि त्यो बोर्डिङ नि सरकारी जस्तै छ किताब मात्र अङ्ग्रेजीमा हो भन्या… सबै नेपाली मै बोल्ने। सरहरुले नि नेपालीमा बोल्दा विद्यार्थीलाई गाली नगर्ने। त्यो त राम्रो छैन भनेर यहाँ ल्याएको यसमा त गेटबाट भित्र छिरे पछि नेपाली बोल्न पाउदैन रे! नेपाली बोले जरिवाना तिर्नु पर्छ रे, बच्चाहरू नि अङ्ग्रेजीमा तगडा हुन्छन रे !  यसमा पढेका जति सबै अमेरिका ,अष्ट्रेलिया युरोपमा पुगेका छन रे  सबैले  राम्रो भन्छन्। घरमा पनि अङ्ग्रेजी बोल्छन् रे यहाँ पढेका बच्चाहरू त ! त्यही भएर यसको बाबाले पनि विदेशबाट यसमा नै पढाउने भन्नु भो।’

मलाई उनको कुराले मनमा चिसो पस्यो। हाम्रो मातृभाषा र राष्ट्रिय भाषालाई यसरी आम नागरिकले उपेक्षाकृत रुपमा लिनु राष्ट्र र राष्ट्रियताको लागि पटकै राम्रो होईन? आयातित भाषा अझ भनौँ अङ्ग्रेजी भाषा प्रति आम नागरिकको मोह बढ्दै जानु, शिक्षाको उच्च गुणस्तर अङ्ग्रेजी भाषा जान्नुलाई मानिनु, सरकारको शिक्षा नीति नै स्पष्ट नहुनु, नागरिकहरुमा तीन किसिमको शिक्षा पठनपाठन गराईनु (सरकारी, सरकारी अंग्रेजी र निजी)। एउटै विध्यालयमा दुई किसिमका शिक्षा लागू गरिनु निकै तल्लो तहमा नेपाली माध्याम भाषालाई राखिनु, निकै चिन्ताको बिषय हो।  हुनेखाने र हुँदाखाने हरु बिचको शिक्षामा नै फरक भए पछि यसले धनी र गरिब बिचको असमानता शिशु अबस्थाबाट नै बिद्यालयको शिक्षाबाट छुट्याईरहेको छ। हुनेखाने अभिभावकहरुले नेपाली भाषा सकभर आफ्ना बच्चाहरूलाई सिकाउन वा बोल्न उक्साउदैनन, तोते बोलि सुरु भए देखि नै अंङ्गेजिका शब्दहरुमा अभ्यस्त गराउन खोज्छन र बिद्यालय पनि सोहि अनुसारको खोज्छन।

सभ्य हुनेखाने कहलाउन टुटफुट भए पनि अङ्ग्रेजी बोल्ने संस्कृतिले आफ्नै मातृभाषा लाई तल्लो दर्जामा राखेका छन् भने सरकार र जिम्मेवार पक्ष पनि यसलाई साथ दिई रहेका हुन्छन। शिक्षाको गुणस्तर भाषामा होइन ज्ञान र सीपमा हुन्छ भन्ने मानसिकता जबसम्म अभिभावकमा विकास हुँदैन तब सम्म हामी नेपाली भाषालाई अपमान गरिरहन्छौ। के हाम्रो राष्ट्रभाषा तल्लो दर्जा कै हो त? नत्र किन यो हेलामा छ। हामी विदेशी भाषा नजानेरै अविकसित राष्ट्रका नागरिक भएका हौ त? यो कदापि होइन, जापान, चिन, दक्षिण कोरिया लगायत अन्य बिकसित देशहरूमा विज्ञान, कम्प्युटर देखि सबै विषयहरू आफ्नै मातृभाषामा पठनपाठन गराइन्छ। कुनै आयातित विदेशी भाषाको सहारा लिनु परेको छैन, त्यहाँका नागरिकहरू न त हामिले जसरी मातृभाषालाई हेला गर्दछन् नत विदेशी भाषामा नै गर्व गर्छन। हाम्रो जस्तो राष्ट्रभाषा बोल्दा सजाय पाइने देश अरु छैनन्। विकास र सम्पन्नताको लागि मातृभाषा बाधक कहिँ, कतै र कहिल्यै हुदैन, तर पनि हामी मातृभाषालाई हेय को श्रेणीमा राखेर हेरिरहेका छौ। आखिर किन.?

यो विषयलाई जिम्मेवार पदमा बस्नेहरू नै उपेक्षा गरिरहेका छन,  सांंसद्, मन्त्री देखि पूर्व उपराष्ट्रपति समेतले मातृभाषामा अथवा राष्ट्रभाषामा सपथ नलिएर विदेशी भाषामा सपथ लिनु, सरकार नेै सरकारी विद्यालयबाट नेपाली माध्यम भाषालाई हटाएर सम्पूर्ण विषयहरु (नेपाली बाहेक) अंग्रेजीमा पठनपाठन गराउन लागि पर्नु, भाषा संस्कृति मेटाई राष्ट्रियताको चर्को नारा लगाउनु राष्ट्रको इतिहास र भविष्य प्रतिको ठुलो घात हो भने हामी आम नागरिक धेरथोर आफ्नो मौलिक संस्कार संस्कृति र इतिहासलाई मेट्न हामी आफै पनि उत्तिकै अग्रसर भै रहेका छौ। जसरी अंग्रेजी मोहमा विद्यार्थी र अभिभावक परिरहेका छन त्यसलाई अवसरको रुपमा लिँदै  निजी विद्यालयहरूले नेपाली भाषामा बोल्न नपाउने, बोले कार्वाही गर्ने भन्दै आफ्नो व्यापार गरिरहेका छन्। कुल विद्यार्थीको करिव २३ प्रतिशतलाई शिक्षा दिइरहेको  निजी विद्यालयहरूले नेपाली भाषालाई महत्व दिएका छैनन्। उनीहरूले गुणस्तरीय शिक्षा दिइरहेको ढोल पिटिरहेका छन्। अङ्ग्रेजी जान्नु नै उनीहरूको बुझाईमा गुणस्तरीय शिक्षा हो। यता त्यही भ्रममा आम नागरिक झुम्मिरहेका छन्, जसले गर्दा निजी विद्यालयहरूमा विद्यार्थीहरूको चाप बढ्दो छ भने सरकारी विद्यालयहरूमा नेपाली भाषामा पठनपाठन हुनुलाई गुणस्तरीय नभएको भन्दै विद्यार्थीहरू घटेको बहानामा सरकारी विद्यालयहरूमा पनि सरकार कै पहलमा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन शुरु गरिएको छ यो सरासर राष्ट्रभाषा (मातृभाषा) प्रतिको अपमान हो।

यति सम्म त सायदै विश्वको कुनै देशमा नहोला जहाँ आफ्नै राष्ट्रभाषा बोल्दा सजाय भोग्नु पर्ने र जरिवाना तिर्नु पर्ने। हाम्रो आफ्नै घर नजिकका निजी स्कुलहरुको एउटा अति महत्वपूर्ण नारा नै छ- ”विद्यालय  भित्र नेपाली बोल्न नपाइने, अङ्ग्रेजी वातावरणमा पठनपाठन हुने”।

के आफ्नै राष्ट्रभाषा र मातृभाषा बोल्नु अपराध हो? ती कलिला बाल मस्तिष्कमा मातृभाषा बोल्दा पाएको सजाएको नतिजा भोलि कस्तो आउने हो कसैले लेखाजोखा गरेको छ? आजका बालबालिका भोलिका देशका कर्णधार भनेर भन्ने गर्छौ तर तिनै कर्णधारहरूलाई कस्तो शिक्षा दिइरहेका छौ, देश मा नै बसेर देशको लागि योगदान गर्ने किसिमको शिक्षा किन दिन सक्दैनौ? ऊर्जाशील जनशक्ति देशमै उद्यमी बन्नु पर्छ भन्ने शिक्षा दिनु पर्ने होइन? तर अहिले शिक्षा हेर्दा १२ कक्षा सक्ने बित्तिकै  आई ई एल टि एस, टोफेल, कोरियन , जापानिज लगायतका भाषा पढेर विदेश जानेहरूको लर्को लाग्ने किन गर्छ? हाम्रो शिक्षाले कुन श्रेणीको जनशक्ति उत्पादन गरिरहेको छ, देशको लागि ? कि विदेश को लागि? अर्बाै लगानी रहेको शिक्षा क्षेत्रबाट उत्पादित शिक्षित जनशक्ति देशमा नै काम गर्ने कति छन्? देशमा भन्दा विदेशमा जाने शिक्षित जनशक्ति धेरै छ। यहि अवस्था रह्यो भने युवा शिक्षित जनशक्ति शून्य भएको देश नेपाल भनेर चिनिने छ। केही वर्ष अगाडि पहाडबाट तराईमा बसाइ सर्ने क्रम तीब्र थियो अहिले पनि जारी छ तर अब देशबाट नै बसाइ सर्ने क्रम तीब्र हुँदै छ। खाडी मुलुकमा रोजगारीका लागि गएका युवाहरू त केही वर्षमा नै फर्कने गर्दछन् तर शिक्षाको नाममा देश छाड्ने युवा हरु बिरलै फर्कने गर्दछन्। जसरी पनि उतैको पि आर लिने ध्याउत्रमा लाग्ने युवाहरूको जमात ९९ प्रतिशत छ। अधिकांश विद्यार्थी तिनै हुन जुन शिशु कक्षा देखि मातृभाषा पढ्न र बुझ्न पाएनन्। देश, जन्मभूमि र मातृभाषाको महत्व बुझाउन सकिएन। यो अवस्था आउनु अन्य धेरै कारण होलान् तर सानै देखि आफ्नै मातृभाषालाई हेला गर्ने सिकाउने हाम्रै शिक्षालयहरू, भाषा, धर्म सस्कृति, सस्कार र इतिहास नै स्वतन्त्र राष्ट्रका प्रमुख अवयवहरू हुन भन्ने ज्ञान नभएका नीति निर्माताहरू, नेताहरु र शिक्षालाई कमाउ धन्दा बनाएर राष्ट्रिय भाषा, संस्कार र संस्कृति मास्न उद्धत निजी विद्यालय हरु नै हुन। भाषा संस्कृति र इतिहास धुजा धुजा पारि राष्ट्र र राष्ट्रियता कम्जोर बजाउने मतियार यिनै हुन।

निजी विद्यालयहरू त वर्षौं देखि नै मातृभाषालाई क्षयिकरण गर्ने महत्वपूर्ण भूमिकामा रहँदै आएका छन नै, अहिले त सरकारी विद्यालयहरू पनि निजी विद्यालय कै बाटोमा पुगेका छन्, सरकार उनीहरुलाई नै मलजल गरिरहेको छ। शिक्षाको नाममा व्यापार मात्र भै रहेको छैन, त्यहि व्यापारले देश छोड्ने जनशक्ति बढाउदै लगेको छ, देश युवाविहिन बन्दै छ भने भाषा धर्म संस्कृति र  संस्कार मासेर राष्ट्रको सांस्कृतिक पहिचान मेटिदैछ र राष्ट्रियता खतरामा पर्दैछ। यो क्रमलाई बेलैमा सम्बोधन गरिएन भने हाम्रो भाषा र संस्कृति कुनै जमानाको कथा हुने निश्चित छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here