काठमाडौं।अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ।

अमेरिका र अफगानिस्तानमा सक्रिय तालिबान लडाकूबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भएसँगै सकारात्मक संकेत देखा परेको हो।

त्यसअघि तालिबान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलबीच शनिबार मध्य रातिदेखि एक सातासम्मको युद्धविराम लागू भएसकेको छ।
यो एक साताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन्।
अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको बताउनुभएको छ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटों प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिबान सहमतिको स्वागत गरेका छन्।
उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको उल्लेख गरेका छन्। एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here