काठमाडौं।ललितपुर सानेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।

सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीया मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो।

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो। त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ।

तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।

‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन।’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘मैले हिजो फरेन्सिक ल्याबको परीक्षण रिपोर्ट पाएको छु। रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’

उनले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताए। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।

गत २७ माघमा नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको कोही नभएको अवस्थामा आफ्नै घरका कामदार विजय चौधरीले हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here