भ्रष्टाचारीको हुलबाट दानवीर जन्मन्छ,
त्यही दानवीर बरिष्ठ समाजसेवी बन्छ,
हाम्रो नेपालमा।

हत्यारा कानुनको वकालतमा गर्जन्छ,
नरसंहार गर्ने शासक सर्वहाराको नायक बन्छ,
हाम्रो नेपालमा।

लुटेराको नाइके ढुकुटीको रक्षक बनाइन्छ,
त्यही रक्षक इमान्दारहरूको भक्षक बन्छ,
हाम्रो नेपालमा।

अपराधीको सरदार सुशासनको ढोल बजाउँछ,
त्यही सरदार गुण्डाराजको शासन चलाउँछ,
हाम्रो नेपालमा।

सुकुम्बासी नेताले बिना इलम महल ठड्याँउछ,
त्यही महलबाट जनताको रगतमा हुकुम चलाउँछ,
हाम्रो नेपालमा।

गद्दार कपूत शत्रुको कठपुतली भै घुम्छ,
नदि बेच्छ ,सिमा बेच्छ तै पनि खाँटि राष्ट्रवादी बन्छ,
हाम्रो नेपालमा।

एक छाक खोले नपाएर जनता छटपटाउँछ,
करोड र अरबका भ्रष्ट्राचार सामान्य हुन्छ,
हाम्रो नेपालमा।

पटक पटक धोका दिदैँ जनता रुवाउँछ,
चुनावमा मिठो सपना बाँड्दै मख्ख बनाउँछ,
हाम्रो नेपालमा।

ज्यानमाराले चुनाव जित्छ ,सरकार बनाउँछ,
कहीँ नभएको जात्रा हुन्छ,
हाम्रो नेपालमा।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here