काठमाडौं । बुर्किनाफासोको एक चर्चनजिकै गोलीबारी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ।

आक्रमणकारीहरुले पादरीसहित २४ जनाको गोली हानी हत्या गरिदिएका छन् भने तीनजनालाई अपहरण गरी लगेका छन्।

उक्त आक्रमणमा परी अन्य १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। याघा प्रान्तको एक शहरनजिकै अफ्रिकाका एक धार्मिक नेतालाई लक्षित गरी उक्त आक्रमण भएको अधिकारीहरुले अनुमान गरेका छन्।

आक्रमणकारीहरुले दोकानबाट चामल तथा तेल लुटेर लगेका छन्। आक्रमणमा मारिनेहरुमा मुस्लिम र इसाई दुवै धर्मका मानिसहरु रहेको जनाइएको छ।

समाचार एजेन्सीहरुले जनाएअनुसार आक्रमणकारीहरुले प्रोटेस्टेन्ट चर्चनजिकै पहिले पुरुष र महिलालाई अलग अलग  स्थानमा राखेका थिए। त्यसपछि हत्या गरेका थिए।

त्यहास्थित एक सुरक्षा अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनेका छन्, आक्रमणपछि आक्रमणकारीहरुले चर्चमा आगो लगाएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here