काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकाल दुई वर्ष पूरा भएसँगै संघीय संसद्‌मा अविश्वासको प्रस्ताव पेस गर्न सकिने संवैधानिक बाटो खुलेको छ।

संविधानको धारा १००(४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वासको प्रस्ताव पेस गर्न पाइने व्यवस्था छ। ओली २०७४ फागुन ३ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो शनिबार (हिजो)बाट खुले पनि ओलीको पार्टी नेकपाको प्रतिनिधि सभामा स्पष्ट बहुमत रहेकाले अहिले त्यस्तो प्रस्ताव आउने सम्भावना छैन।

प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्न आवश्यक संख्यासमेत संसद्‌मा छैन। अविश्वासको प्रस्ताव दर्ता गर्न संसद्को एक चौथाइ अर्थात् ६९ सांसद चाहिन्छ। तर कांग्रेससँग प्रतिनिधि सभामा ६३ सांसद मात्र छन्।

एक पटक अविश्वासको प्रस्ताव पेस गरेपछि अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here