काठमाडौं। विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरमा मेयर पदका प्रत्याशी समिक्षा बास्कोटाले मेयर पदमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयर पदमा निर्वाचित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोललाई बधाई दिएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत बास्कोटाले साह र डंगोललाई बधाई दिएकी हुन्।

चुनावी अभियानका क्रममा बास्कोटाले राजधानी महानगरमा सबैभन्दा अब्बल उम्मेदवारको रुपमा परिचय स्थापित गर्न सकेपनि महानगरबासीको उल्लेख्य मत भने प्राप्त गर्न सकिनन्। यद्यपि युवा पुस्ता राजधानी महानगरको नेतृत्वमा निर्वाचित हुनु आफ्ना केही एजेन्डा समेतको जित भएको बास्कोटाको ठम्याई छ।

बास्कोटाको पार्टी विवेकशील साझा आन्तरिक किचलोमा फस्दै गएका कारण अब्बल उम्मेदवार हुँदाहुँदैपनि मतदाताको रोजाईमा पर्न नसकेको राजनीतिक वृत्तमा चर्चा छ।

साह र डंगोललाई दिएको बधाई सन्देशमा बास्कोटाले आफू पराजित भएपनि नेवा सभ्यताको पुनर्जागरण, राजधानीको गौरव पुनस्थापना अनि राजनीति र राजधानीको फोहर सफा गर्ने विषयमा महानगरको नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको उल्लेख गरेकी छन्।

यस्तो छ समिक्षाको बधाई सन्देशः
राजधानी महानगरको प्रमुखमा बालेन्द्र साह र उपप्रमुखमा निर्वाचित हुनुभएकोमा सुनिता डंगोललाई हार्दिक बधाई तथा शुभकामना।

चुनावमा आ–आफ्ना एजेन्डामा टेकेर प्रतिस्पर्धा गर्नु स्वाभाविक हो। म आफैले पनि राजधानी महानगरको नेतृत्व लिन अग्रसरता लिएँ तर काठमाडौंले यसपटक तपाईंहरुलाई विश्वास गरेको छ। यस्का लागि पुनः एकपटक बधाई ।

कतिपय एजेन्डा, उमेर समूह, उर्जा र केही गरेरै छाड्ने हुटहुटीलाई आधार मान्ने हो भने तपाईंहरु हाम्रो पुस्ताको नेता हो। आशा अनि विश्वास छस हजारौं युवाहरुको भरोसा, महानगरबासीको विश्वास र देशको राजधानी सहरको गौरव पुनःस्थापित गर्ने संकल्पबाट रत्तिभर विचलित नभई यहाँहरु अघि बढ्नु हुनेछ।

नेवा सभ्यताको पुनर्जागरण, राजधानीको गौरव पुनःस्थापना अनि राजधानी र राजनीतिको फोहोर सफा गर्ने विषयमा यहाँहरुको कार्यकाल भरि मेरो निरन्तर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु।

समीक्षा बास्कोटा

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।