पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच एकताको हल्लाले राजनीतिक वृत्त तरङ्गीत बन्यो। राप्रपा र विवेकशील साझा एकता हुन लागेको, एकता भाँडिएको जस्ता थुप्रै फरक फरक कोणका समाचार र हल्लाहरु बाहिरिएपछि हामीले २०७४ सालको निर्वाचनको मत परिणामको आधारमा यी दुवै दलहरुको हैसियतको समीक्षा गर्ने प्रयास गरेका छौं।

२०७४ सालमा सम्पन्न निर्वाचनमा दलगत समानुपातिक मत परिणामलाई हेर्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा विवेकशील साझा पार्टी ठूलो देखिन्छ। २०७४ सालको निर्वाचनमा विवेकशील साझाले समानुपातिक तर्फ २ लाख १२ हजार ३ सय ६४ मत प्राप्त गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उक्त निर्वाचनमा १ लाख ९६ हजार ७ सय ८२ मत मात्र प्राप्त गरेको थियो। यद्यपि त्यतिबेला राप्रपा तीन टुक्रामा विभाजित थियो।

२०७४ सालको निर्वाचनताका राप्रपाको नेतृत्व कमल थापाले गरेका थिए। त्यतिबेला चुनाव चिन्ह गाई सहित राप्रपा चुनावमा होमिएको थियो। तत्कालीन समयमा गोलाकार भित्रको हलो चुनाव चिन्ह भएको राप्रपा प्रजातान्त्रिक ( जस्को नेतृत्व पशुपति शमशेर राणाले गरेका थिए) ले ८८ हजार ३ सय ७७ मत मात्र समानुपातिक तर्फ प्राप्त गरेको थियो। सोही निर्वाचनमा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रवादीले २८ हजार ८ सय २८ मत मात्रै प्राप्त गरेको थियो। निर्वाचन पछि यी ३ वटै राप्रपाबीच एकता भयो। तीन राप्रपा एक भएकै आधारमा राप्रपाको समानुपातिक तर्फको मत जोड्ने हो भने कुल प्राप्त मत ३ लाख १३ हजार ९ सय ८७ पुग्छ। तीनओटा राप्रपा एक भएपछिको कुल प्राप्त मत जोड्ने हो भने विवेकशील साझा पार्टी भन्दा  राप्रपा १ लाख मतले अगाडि देखिन्छ। तर राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै तत्कालीन अध्यक्ष कमल थापाले राप्रपा छाडेर राप्रपा नेपालको अध्यक्ष भइसकेका छन्।

लामो समय राप्रपाको नेतृत्व गरेका थापाले राप्रपा छाडेसँगै जनमत र राप्रपाको सङ्गठनमा समेत केही असर पर्नु स्वाभाविक नै हो। त्यति मात्रै कहाँ हो र? चुनाव चिन्हले खास अर्थ राख्ने नेपाली समाजमा अहिले राप्रपासँग गाई चुनाव चिन्हपनि छैन यस्को प्रत्यक्ष असर पनि जनमत र सङ्गठनमा मात्रै नभई आगामी निर्वाचनमा समेत पर्नसक्ने आँकलन गर्न सकिन्छ।

अहिले राप्रपा राजेन्द्र लिङ्देनको नेतृत्वमा छ भने राजेन्द्र लिङ्देन आफैले चुनाव लडेको चुनाव चिन्ह गाई निर्वाचन आयोगले हटाइसकेको छ। लिङ्देन नेतृत्वको राप्रपासँग अहिले चुनाव चिन्ह हलो छ। २०७४ सालको निर्वाचनमा गोलाकारभित्र हलो र आयातकार भित्र हलोले प्राप्त गरेको मत जोड्दा १ लाख १७ हजार २ सय ५ मात्रै छ। दुवै हलो चिन्हमा प्राप्त मत हेर्ने हो भने २०७४ मा विवेकशील साझाले प्राप्त गरेको मत १ लाख बढी हो।

विवेकशील साझाले २०७४ को निर्वाचनमा सम्मानजनक मत ल्याएको भएपनि यो पार्टी विभाजन भयो। विभाजनपछि तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकता भयो। पुनः एकतापछि २०७४ सालमा विवेकशील साझाले प्राप्त गरेको मत २ लाख १२ हजार ३ सय ६४ विवेकशील साझाकै रहेको अनुमान लगाउन सकिन्छ।

२०७४ सालको निर्वाचनमा विवेकशील साझाले प्राप्त गरेको मत पूर्णरुपले शुभेच्छुकहरुको मत हो भने सानै संरचनामा रहेको भएपनि राप्रपाको मत संगठनात्मक मत पनि हो। २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र काठमाण्डौं क्षेत्र नं. १ मा नेपाली काँग्रेसका नेता प्रकाशमानसिंहसँग थोरै मतअन्तरले पराजित भए। राप्रपाका अहिलेका अध्यक्ष लिङ्देन झापाबाट एमाले समेतको समर्थनमा निर्वाचित भए। यसबाहेक यी दुवैदलले प्रत्यक्ष तथा समानुपातिक तर्फ कुनै मत परिणाम लयाउन सकेनन्। सँगै भएको प्रदेशसभा निर्वाचनमा भने राप्रपा र विवेकशील साझाले तीन तीन सिट प्राप्त गरे।

२०७४ सालको निर्वाचनताका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको चर्चा नेपाली राजनीतिको क्षेत्रमा निकै उच्च थियो भने राप्रपाका अहिलेका अध्यक्ष लिङ्देनको चर्चा औसत नेताको रुपमा मात्रै थियो। राप्रपाको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएयता लिङ्देनको चर्चाभने निकै चुलिएको छ। उनलाई कमल थापा र थापा पक्षधर केही नेताहरु बाहेक प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा जस्ता अन्य नेताहरुले बलियो साथ दिईरहेका छन्। यता २०७४ सालको निर्वाचनका बेला चर्चाको शिखरमा रहेका विवेकशील साझाका अध्यक्ष मिश्रभने पार्टीको आन्तरिक विवादमा फसेका कारण केही क्रेज घटेको हो की भन्ने अनुमान लगाउन सकिन्छ।

अतः २०७४ सालको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम, एकता र विभाजन, नेताहरुको घट्दो बढ्दो क्रेज, २०४७ सालपछि देशमा बढेको विकृत राजनीतिको भाष्य बदल्न आवश्यकता खड्कीएको वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास समेतको विश्लेषण गर्ने हो भने लिङ्देन नेतृत्वको राप्रपा र मिश्र नेतृत्वको विवेकशीलको आकार समान हो र यी दुवैदल समान हैसियतका राजनीतिक शक्ति हुन्।

यहाँ उल्लेख गरिएका विषयहरु २०७४ सालको निर्वाचनको परिणाम र दुवैदलको ४ वर्षको यात्राका आधारमा उल्लेख गरिएका हुन्। यी दलहरुबीच एकता भएमा दलहरुले उठाउन सक्ने सहअस्तित्वका विषय, पार्टीको नाम र चुनाव चिन्हमा हुने अपनत्व, राजनीतिक कार्य दिशा र एजेण्डा लगायतका विषयहरु दुवैदलका नेतृत्वतहमा छलफल भएर टुंगिनुपर्ने विषयहरु हुन्। दुवैपार्टी श्रोतका अनुसार एकताका विषयमा सामान्य कुराकानी बाहेक विषयवस्तुमा प्रवेश नै भएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।