विनोद ढुंगाना


तनहुँ। समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन् ।

हिन्दू धर्म परम्पराअनुसार शवकाे सद्‍गद् पुरुषले नै गर्नु पर्छ । अपवाद बाहेक शव बोक्नेदेखि दाहसंस्कार कर्ममा महिलालाई सहभागी गराउन नचाहने सामाजिक परिवेशमा कुरीतिको जालोलाई तोड्दैछन् व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सञ्चालक महिलाहरू ।

याे आश्रम महिलाहरूले मात्रै सञ्चालन गरेका हुन् । आश्रममा आश्रित ज्येष्ठ नागरिकको मृत्यु भएपछि शव बोक्नेदेखि सेतीमादी शव दहस्थलसम्म पुर्‍याएर दागबत्ती दिने काममा महिलाहरू नै सहभागी हुन्छन् ।

आश्रमका सञ्चालक महिलाले सामाजिक परम्परालाई चुनौती दिँदै लैंगिक विभेदको अन्त्य गर्न जुटिरहेका छन् । १ पुस २०७० सालदेखि आश्रम सञ्चालनमा ल्याइएको हो । आश्रम सञ्चालनमा आएपछि आश्रित आमाबुबाको निधन हुँदा काँध हालेर शव बोक्नेदेखि दागबत्ती दिने काम सञ्चालक महिलाले नै गर्दै आएको आश्रम सञ्चालक समिति सचिव निर्मला मल्ल बताउँछिन् । पितृसतात्मक सोचको अन्त्य गर्न शव वोक्ने र दागबत्ती दिने अभियानमा जुटिरहेको उनको भनाइ छ ।

‘वृद्धाआश्रम भरसक नखुलोस् भन्ने हाम्रो धारणा थियो । अशिक्षा, गरिबी र चेतनाका कारणले आमा बुबालाई हेला गर्ने प्रवृत्ति समाजमा बढ्यो । त्यसो हुँदा हामी महिला दिदीबहिनी चुलो चौकामा मात्र सिमित नभएर सामाजिक काम गरौँ भनेर आश्रम सञ्चालनको अभियानमा जुट्यौँ । हामीले पालनपोषण गरेपछि उहाँहरूको मृत्युमा अन्तिम दाहसंस्कार पनि गर्नुपर्छ भनेर लाग्यौँ’ ।’ मल्ल अगाडी थप्दै भन्छिन्, ‘ किनकी कुनै पनि नीति नियम कानुनमा लेखेको छैन पुरुषले यो काम गर्न हुन्छ महिलाले गर्न हुँदैन् भनेर । छोराछोरीलाई जन्माउँदा गर्भमा उत्तिकै समय राखिएको हुन्छ । प्रशव पीडा पनि उस्तै हो । तसर्थ, पितृसतात्मक सोचको अन्त्य गराउँदै छोराछोरी बराबरी रहेको सन्देश फैलाउन हामीले शव बोकेर घाट पुर्‍याइ दागबत्ती दिँदै आएका छौँ ।’ आफूहरूले गर्दै आएको कामले आत्मसन्तृष्टि दिलाएको उनले बताइन् । आश्रमका सञ्चालक महिलाले शव बोक्न थालेपछि अरु महिलालाई पनि आफन्तको मृत्यु संस्कारमा पुरुषसरह सहभागी बन्न प्रेरणा मिलेको उनको भनाइ छ ।

आश्रम खुलेको सात बर्षमा ६ जना आमाबुबाको उनीहरूले दाहसंस्कार गरिसकेका छन् । पहिलो पटक २०७२ को भुकम्पपछि आश्रममा आश्रित आइतीमाया थापाको निधन हुँदा सञ्चालहरूले नै अन्त्येष्टि गरेका थिए । त्यतिबेला चुनौतीको पहाडलाई फोरेर हिम्मत जुटाएको आश्रमकी संस्थापक अध्यक्ष सवित्रीदेवी श्रेष्ठले बताउँछिन् । ‘आइतीमाया आमाको निधन भएपछि उहाँको आफन्तहरू आएर घाटसम्म लैजान्छौँ भनेर प्रस्ताव राख्नुभयो । हामीले पालनपोषण स्याहारसुसार गरेपछि अन्तिम संस्कार किन नगर्ने ? लागेको खर्च पनि ब्याेर्छाैं र शव पनि दिदीबहिनीले नै बोक्छौँ भन्यौँ’, उनि सम्झन्छिन् ।

त्यो बेला समाजले शव बोक्ने र दागबत्ती दिने महिलाहमाथि नानाथरी भन्याे । अहिलेका महिलाहरु बौलाए, भाले बास्नु पर्नेमा पोथी बास्यो आदि इत्यादि । ‘हामीले हेर्न सकिएन समेत भन्न भ्याए,’ श्रेष्ठ स्मरण गर्छिन्, ‘अझै त हाम्रो समाज कुरीतिमा अल्झिएको छ । त्यतिबेला त झन के भनेन् हाेला र । तर, हामीले ती कुरालाई बेवास्ता गर्दै हाम्रो काममा अगाडि बढ्यौं ।’

सावित्रीको भोगाइमा यो अवधिमा समाज केही परिवर्तन भएको छ । आलोचना गर्नेहरु आजकाल साथ दिन थालेका छन् । ‘हिजो आँखा छोप्यौँ भन्ने दाजुभाई दिदीबहिनीहरू पनि हाम्रो अभियानमा साथ दिएर हिँड्नुभएको छ,’ उनले भनिन् ।

आश्रम सञ्चालनका लागि करिब ३५० महिला एक भएका छन् । भाडाको घरबाट आश्रम चलाउन थालेका महिलाले अहिले आफ्नै भवन बनाएका छन् । आश्रममा पाँच जनाले आश्रय लिइरहेका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।