काठमाडौं। बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष अनुसन्धान गरेको थियो।

त्यस क्रममा १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले बताए। यस्तै, बाटो बनाउने नाममा सात रोपनी हिनामिना भएको अनुसन्धानले देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ३६ रोपनीभन्दा बढी हिनामिना भएको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो। शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो। जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।

किर्ते गरी चारपटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ। २०४९, २०६२, २०६७ र २०६९ मा भएका किर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको प्रवक्ता महतोले बताए। ब्युरोले मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पुस ६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको हो। अन्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

यो प्रकरणको हदम्याद पुस २७ मा सकिँदै छ। प्रहरीले अब १०–१२ दिनभित्र अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ। त्यो अध्ययन गर्न सरकारी वकिलको कार्यालयलाई तीन दिन चाहिने जनाइएको छ।

ब्युरोले हदम्यादभन्दा ५–७ दिनअघि नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिने तयारी गरेको छ। अनुसन्धान अझै नसकिएकाले कति व्यक्तिविरुद्ध मुद्दा दायर हुन्छ भन्ने यकिन नभएको महतोको भनाइ छ। प्रहरी नायब उपरीक्षकहरू कुमार मैनाली, सुकदेव खनाल, रविनबाबु रेग्मी र मदनजित महराले यो मुद्दाको अनुसन्धान गरिरहेका छन्।

४ सय जनाविरुद्ध अनुसन्धान गरेकामा १ सय ५० आरोपितविरुद्ध मुद्दा दर्ता हुने सम्भावना रहेको स्रोतले बताएको छ। ‘अझै अनुसन्धान सकिएको छैन। बयान लिने काम भइरहेको छ। त्यसैले संख्या यकिन भएको छैन’, महतोले भने, ‘लहरो तान्दा पहरो जाने अवस्था छ।’

सरकारले अधिग्रहण गरेको जग्गा पुनः राणा परिवारमा कसरी गयो भनेर जरैदेखि अनुसन्धान भइरहेको उनको भनाइ छ। ‘चारपटक सरकारी जग्गा व्यक्तिको नाममा गएको देखिएको छ’, उनले भने, ‘२०४९, २०६२, २०६७ र २०६९ सालमा यो जग्गा हडप्पिएको देखिन्छ। त्यसैमा हाम्रो अनुसन्धान केन्द्रित छ ।’ यो खबर ललिता निवासको १४३ रोपनी हिनामिना शीर्षकमा अन्नपूर्ण पोस्ट मा छापिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।