काठमाडौं। विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा सदस्यता विभाग प्रमुख लक्ष्मी घिमिरेले पार्टीलाई आर्थिक योगदान गर्ने भएकी छन्। घिमिरेले पार्टीका केन्द्रीय समितिका सदस्यहरूलाई मंगलबार इमेल गर्दै आफूले वार्षिक २ लाख ६० हजार बराबरको आर्थिक योगदान गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।

केन्द्रीय कार्यालयमा कर्मचारीको रुपमा समेत काम गर्दै आइरहेकी घिमिरे शारीरिक अपाङ्गता भएकी नेतृ हुन्। घिमिरेको शारीरिक अवस्था समेतलाई मध्यनजर गर्दै पार्टीले उनलाई मासिक २० हजार तलब सुविधा दिदै आएको थियो। पार्टीले मासिक रुपमा दिदै आएको तलब बराबर वार्षिक रुपले हुन आउने रु २ लाख ६० हजार पार्टीलाई आर्थिक योगदान गर्ने भन्दै घिमिरेले पौष १ गतेदेखि लागू हुने गरि तलब नलिने घोषणा गरेकी हुन।

घिमिरे विवेकशील साझाको स्थापनाकाल २०७४ साल देखि नै पार्टीमा पहिले कर्मचारी र पछि पार्टीको युवा तथा केन्द्रीय नेतृत्वमा रहेर पूर्णकालीन समय दिएर काम गरिरहेकी छन्।

केन्द्रीय समितिका सदस्यहरूलाई लेखेको जानकारी पत्रमा उनले लेखेकी छन्; ”हाम्रो पार्टीको पछिल्लो आर्थिक अवस्था र चुनौतीलाई हेर्दा मलाई प्रदान गरेको रकम मैले नलिँदा पार्टीलाई केही आर्थिक भार कम हुने महसुस गर्दै २०७८ पुस ०१ गतेदेखि मैले प्राप्त गर्दै आएको मासिक रू २०,००० नलिने निर्णय गरेको जानकारी गराउन चाहन्छु।”

पत्रमा उनले आफ्नो जिम्मेवारीमा रहेको सम्पूर्ण काम यथावत रूपमा सम्पादन गर्ने समेत जानकारी गराएकी छन्। 

पार्टीका सम्पूर्ण सदस्यहरूको योगदानले नै विवेकशील साझा पार्टी यो देशको रूपान्तरणकारी शक्ति बन्नेछ भन्ने विश्वास व्यक्त गर्दै घिमिरेले आफूलाई सहयोग गर्दै आएका सम्पूर्णमा आभार व्यक्त गरेकी छन्।

नेतृ लक्ष्मी घिमिरेले केन्द्रीय समितिमा पठाएको पूर्णपाठः


आदरणीय अध्यक्ष तथा केन्द्रिय सदस्यज्युहरू,

नमस्कार!

विषय: पार्टीमा मैले पुर्याउन सक्ने योगदान सम्बन्धमा 

विवेकशील साझा स्थापनाकाल २०७४ देखि नै मैले पार्टीमा पहिले कर्मचारी र पछि पार्टीको युवा तथा केन्द्रीय नेतृत्वमा रहेर पूर्णकालीन समय दिएर काम गरिरहेको कुरा यहाँहरू मध्ये कतिपयलाई अवगत नै छ। मेरो शारीरिक अवस्था (अपाङ्गता) का कारण मलाई सहज होस् भन्नाका लागि पार्टीले मासिक तलबका रुपमा रु। २०,०००।– प्रदान गर्दै आएको थियो।

हाम्रो पार्टीको पछिल्लो आर्थिक अवस्था र चुनौतीलाई हेर्दा मलाई प्रदान गरेको रकम मैले नलिँदा पार्टीलाई केही आर्थिक भार कम हुने महसुस गर्दै २०७८ पुस ०१ गतेदेखि मैले प्राप्त गर्दै आएको मासिक रू २०,००० नलिने निर्णय गरेको जानकारी गराउन चाहन्छु। उक्त रकम (बार्षिक रू.२,६०,०००।) मैले पार्टीको लागि पुर्याउने योगदान हुनेछ भन्ने मैले बिश्वास लिएको छु।

अहिले मेरो जिम्मेवारीमा रहेको सम्पूर्ण काम यथावत रूपमा मैले नै सम्पादन गर्ने जानकारी गराउन चाहन्छु। मैले पार्टीलाई दिने समय र अन्य योगदानमा कुनै कमी आउने छैन।

पार्टीका सम्पुर्ण सदस्यहरुको योगदानले नै हाम्रो पार्टी यो देशको रूपान्तरणकारी शक्ति बन्नेछ भन्ने दृढ विश्वासका साथ मलाई सहयोग गर्दै आउनुभएका सम्पूर्णमा पुन एकपटक आभार प्रकट गर्न चाहन्छु। र, भविष्यमा पनि सहयोगको अपेक्षा गर्दछु।

स-प्रेम
लक्ष्मी घिमिरे
केन्द्रिय सदस्य
सदस्यता विभाग प्रमुख

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।