काँग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्री पदमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही पराजित भएलगत्तै सामाजिक सञ्जालका भित्ताहरुमा उनको राजिनामा माग गरियो। उनको राजिनामा र राजनीतिमा नैतिकताबारेको सञ्जाल बहस अहिलेपनि जारी छ। राजनीतिमा इमान र नैतिकता हुनुपर्छ भन्ने कुरामा दुईमत नहोला, यद्यपि नेपाली राजनीतिमा कति इमान छ र कति नैतिकता छ भन्ने कुरा नै मुख्य बहसको विषय पनि हो। 

सामाजिक सञ्जालका भित्ताहरुमा मुख्यमन्त्री शाहीले डा. मिनेन्द्र रिजालले देखाएजस्तै नैतिकता देखाउनुपर्ने भन्दै एकथरी मान्छेहरु उफ्रिरहेका छन्, एकथरी मान्छे मुख्यमन्त्री शाहीको बचाउमा पनि ज्यान फालेर लागेका छन्। डा. रिजाल र मुख्यमन्त्री शाहीको नैतिकताका कसी यसरी जाँचौँ।

डा. मिनेन्द्र रिजाल नेपाल सरकारको रक्षामन्त्री थिए। काँग्रेसको १४ औं महाधिवेशनमा उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बने। उम्मेदवार बनेलगत्तै रिजालले पार्टी सभापति शेरबहादुर देउवालाई यो महाधिवेशनबाट देउवा निवर्तमान सभापति हुने सार्वजनिक दाबी गरे। रिजालले सार्वजनिक कार्यक्रममा जसलाई निवर्तमान सभापति बनाइदिने चुनौती दिएका थिए, उनै सभापति देउवा प्रधानमन्त्री रहेको क्याबिनेटका रक्षामन्त्री रिजाल थिए।

महाधिवेशनको पहिलो चरणको परिणाममा रिजालले सोचेजस्तो पनि भएन, देउवाले सोचेजस्तो पनि भएन। सभापति पदमा जित्न ५१ प्रतिशत मत ल्याउनै पर्ने नेपाली काँग्रेशको विधानका कारण सभापतिको निर्वाचन दोश्रो चरणमा गयो। दोश्रो चरणको निर्वाचनमा बढी मत ल्याउने २ जना उम्मेदवारीहरूबीच मात्रै प्रतिस्पर्धा हुने वैधानिक व्यवस्थाबीच देउवा र रिजालले उम्मेदवारी दिएको प्यानलका सभापतिका उम्मेदवार कोइरालाले पुनः निर्वाचन लडे। दोश्रो चरणमा आउँदा समीकरण फेरियो। सभापति पदको पहिलो चरणको निर्वाचनमा सभापति पदमै उम्मेदवारी दिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधी र कल्याण गुरुङलाई आफ्नो पक्षमा पार्न देउवा सफल भए। 

श्रोतहरु भन्छन, प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री सहित सरकारमा ल्याउने आश्वासन देउवाले दिएका थिए। यद्यपि यसको पुष्टि आगामी दिनमा हुँदै जाला। यसर्थ डा. रिजालको राजिनामासँग राजनीतिक नैतिकता होइन, महाधिवेशनको पूर्वसन्ध्यामा दिएको देउवालाई निवर्तमान बनाईदिने चेतावनी, देउवाले आफूलाई सहयोग गर्नेलाई महत्वपूर्ण मन्त्रालय दिन गरेको सौदाबाजी नै मुख्य कारण हो। अर्थात डा. रिजाललाई आफूले दिएको अभिव्यक्ति र महाधिवेशनमा आएको परिणामका कारण आफू बर्खास्तगीमा पर्नसक्ने आशंकाले गलेर राजिनामा दिएका हुन्। प्रकाशमान सिंहलाई महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री दिन देउवा राजी छन् भन्ने हल्ला पछि डा. रिजाललाई आफ्नो पद नै सबैभन्दा बढी असुरक्षित लाग्नु स्वाभाविक हो, त्यसैले त रक्षामन्त्रीबाट राजिनामा दिईसकेपछि आयोजित पत्रकार सम्मेलनमा डा. रिजालले भनेका थिए, राजनीतिक पुँजी बचाउनका निम्ति राजिनामा दिएको हुँ।

हो रिजालको राजिनामाको अन्तर्य बुझिसकेपछि उनको नैतिकताको उदाहरण मुख्यमन्त्री शाहीलाई दिन सुहाँदैन। किनकी मुख्यमन्त्री शाही आफ्ना प्रतिस्पर्धि बद्री पाण्डेसँग २७८ मतले मात्र पराजित भएका हुन। जबकी आफ्नै प्यानलका एकजना महामन्त्रीका उम्मेदवार गगन थापाले झण्डै दुईतिहाई मत ल्याएर महामन्त्री निर्वाचित हुँदैगर्दा ६ जना उम्मेदवार मध्ये रिजाल पाँचौस्थानमा आएका हुन।

मुख्यमन्त्रीको राजिनामाबारे

सत्ता र सरकार वयवस्थापनमा तत्कालिन नेकपा चुकेपछि मात्रै जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने संभावना खुलेको हो। उनी कर्णाली प्रदेशमा नेपाली काँग्रेशको तर्फबाट प्रत्यक्ष निर्वाचित एकजना मात्रै प्रदेश सभा सदस्य हुन। उनले सरकार प्रमुखको रुपमा जनतालाई के डेलिभरी गर्छन, त्यस्को समिक्षा र आलोचना पनि गरौंला। अहिलेलाई यति बुझौं। राजनीतिक पार्टीहरुको केन्द्रीय राजनीतिमा कर्णालीको हस्तक्षेप बढाउन उनले सहमहामन्त्रीमा उम्मेदवारी दिए र थोरै मत अन्तरले पराजित भए। उनी पराजित भएकै कारण मुृख्यमन्त्रीको पदबाट राजिनामा दिनुपर्छ भन्ने छैन अझ डा. रिजालको राजिनामालाई नैतिकताको संज्ञा दिएर मुखयमन्त्री शाहीको राजिनामा माग्नु त बकम्फुस्से कुरा हो। सरकार प्रमुखका रुपमा उनले गरेका कमजोरीका आधारमा राजिनामा माग्ने हो भने मागौं, कर्णालीको नेतृत्व अब कुन दलले गर्ने हो भन्ने बारे बहस चलाउने भएपनि चलाऔं तर डा. मिनेन्द्र रिजाललाई देखाएर राजनीतिमा नैतिकताको गलत पाठ भने नपढाउँ है।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।