सुर्खेत। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला सभापतिमा खड्क पोखरेलको एकल उम्मेदवारी परेको छ। पोखरेल महामन्त्री खड्का निकट हुन्। केन्द्रीय सदस्य हृदयराम थानी निकट वर्तमान जिल्ला सभापति कमल राज रेग्मी र त्यो समुहका सभापतिका आकांक्षिहरु महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि थानी समुहले सभापति पदका लागि उम्मेदवार नै भेटेन।

महामन्त्री खड्का पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको नाम टुंगिएको संस्थापन पक्षले जनाएको छ।

महाधिवेशन प्रतिनिधिमा थानी पक्षलाइ महामन्त्री खड्का पक्षले क्लीनस्विप गरे पछि सभापति बाहेकका पदमा भने थानी पक्षले पनि उम्मेदवारी दर्ता गराएको छ । उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्य पदमा पनि दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन्।

मनोयन दर्ता समय अहिले साँझ ५ बजेदेखी राती ८ बजेसम्म समय तोकिएको छ । उम्मेदवारको नामावली राती ८ः३० बजे प्रकाशन गर्ने, दावी विरोध आजै राती साढे ८ बजेदेखी साढे ९ बजेसम्म, मनोनय फिर्ता भोली विहान ६ बजेदेखी सात बजेसम्म र उम्मेदवारको अन्तिम नामावली भोली विहान साढे ७ बजे प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।