काठमाडौं। विवेकशील साझा पार्टीको विधान संशोधन गर्ने बहुमतको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ। यसअघि पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो। त्यसअनुसार विवरण अद्यावधिक गर्न पठाएको पत्रलाई निर्वाचन आयोगले स्वीकार गरेको हो।

निर्वाचन आयोगले विवेकशील साझाको केन्द्रीय समिति बैठकको निर्णय स्वीकार गरेसँगै अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको र पार्टी केन्द्रीय समितिको दुई तिहाइ बहुमतले पारित गरेको अध्यक्ष मिश्रको राजनीतिक दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ पार्टीको आधिकारिक दस्तावेज भएको छ। पार्टीका संयोजक मिलन पाण्डे लगायतका केही नेताहरुले अध्यक्ष मिश्रको दस्तावेजमा असहमति जनाउँदै आएका थिए।

विवेकशील साझा पार्टीको संशोधित विधान अनुसार पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्न खोज्ने संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ। यद्यपि अध्यक्ष मिश्रले फरक मत राख्ने नेताहरुलाई विमति भएपनि केन्द्रीय समितिको बहुमतको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन्।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो। संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ।

विवेकशील साझाबाट राजीनामा दिएका ५ जना र  मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य  संख्या १२४ सदस्यीय बनाइएको निर्णयलाई पनि आयोगले त्यसलाई पनि स्वीकार गरेको छ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।