सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन्। कर्णाली प्रदेश सभाका २१ जना सांसदको समर्थनमा शाहीले मङ्गलवार अपरान्ह आफ्नो दावी पेश गरेका हुन। 

शाहीलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसदले समर्थन गरेका हुन्।। कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले  मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ।

निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सोमवार राजिनामा दिएपछि प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।

नयाँ मुख्यमन्त्रीले मंगलबार साँझ ८ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।