काठमाण्डौं। विवेकशील साझा पार्टीका सचिवालय सदस्य डा. राजेन्द्र पङ्गेनीले सचिवालय सदस्य र केन्द्रीय समिति सदस्य पदबाट राजिनामा दिएका छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मार्ग परिवर्तन; विचार भन्दा माथि देश भन्दै राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि पंगेनी असन्तुष्ट थिए।यद्यपि आफूले व्यक्तिगत कारणले राजिनामा दिएको उनको तर्क छ।

तपाईंले किन राजिनामा दिनुभयो भन्ने न्यूजपाटीको प्रश्नमा पङ्गेनीले भने, ”मेरो राजिनामा राजनीतिक भन्दा पनि नितान्त व्यक्तिगत कारणले आएको हो, त्यसैले पार्टी नेतृत्वले छिटो भन्दा छिटो मलाई मेरा जिम्मेवारीबाट मुक्त गरेर सहयोग गरिदिने अपेक्षा गरेको छु।”

जिम्मेवारीबाट व्यक्तिगत कारणले राजिनामा दिएपनि आफू विवेकशील साझा पार्टीको सदस्यका रुपमा भने वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागि रहने पंगेनीले बताए।

डा. पङ्गेनीले पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेलाई राजिनामा पत्र पठाएको श्रोतले बतायो। उनको राजिनामा स्वीकृत भने भैसकेको छैन।

तत्कालीन साझा पार्टीको प्रवास संगठन साझा सद्भाव समूहको अन्तराष्ट्रिय समिति संयोजक समेत भएर काम गरिसकेका पंगेनीे पार्टीका संयोजक मिलन पाण्डे समूहले तयार पारेको वैकल्पिक राजनीतिको मूल बाटो दस्तावेजका एकजना लेखक समेत हुन्। डा. पङ्गेनीले संयोजक मिलन पाण्डे, केशव दाहाल र रञ्जु दर्शनासँग मिलेर मिश्रको दस्तावेज विरुद्ध काउन्टर दस्तावेज सार्वजनिक गरेका थिए।

पछिल्लो समय अध्यक्ष मिश्र पार्टी भित्र सुविधाजनक बहुमतमा देखिएपछि केही व्यक्तिहरूले पार्टी छोडेको विवेकशील साझाका एकजना केन्द्रीय सदस्यले नाम नखुलाउने शर्तमा बताए। 

यसअघि मिश्रको ‘विचार भन्दा माथि देश‘ प्रस्तावको विपक्षमा उभिएका गण्डकी प्रदेशका संयोजक महेश भण्डारी र प्रदेश नं २ का संयोजक अनिमेष कुमार मिश्राले दिएको राजिनामा विवेकशील साझा पार्टीको सचिवालय बैठकले स्वीकृत गरेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।