सुर्खेत। सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ। सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर वीसीको उपस्थितिमा आज मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच हस्ताक्षर भएको हो।

समझदारी अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले नगरपालिकालाई एक पटकका लागि रु.६५ लाख उपलब्ध गराउनेछ। नगर प्रमुख सुवेदीले अक्सिजन प्लान्ट कट्कुवा स्वास्थ्य संस्थाको परिसरमा सञ्चालनमा ल्याइने बताए। सम्झौता अनुसार नगरपालिकाले उत्पादित अक्सिजन प्रदेश सरकार मातहतका सबै सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्नेछ। त्यस्तै अक्सिजनको मूल्य निर्धारण गर्दा सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

प्रदेश मन्त्रिपरिषद् यही जेठ २० गते बसेको बैठकले वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो। नगर प्रमुख सुवेदीले अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि थप बजेट नगरपालिकाले आफैले जुटाउने जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।