सुर्खेत। लोपोन्मुख राउटे समुदाय फेरी बस्ती सरेका छन्। गुर्भाकोट नगरपालिकाको वडा नं ११ आँपसोती जनैघाटस्थित भेरी किनारमा बस्दै आएका राउटे समुदाय गुर्भाकोट नगरपालिकाकै वडा नं. ९ मा स्थानान्तरण भएका हुन।
राउटे बस्तीमा अन्य समुदायका मानिसहरु प्रवेश गरि टिकटक तथा युट्युब भिडियो बनाउने र भाइरल बनाउने क्रियाकलाप बढ्दै गएपछि असुरक्षित हुँदै आएको राउटे समुदायकोको सुरक्षाका लागि सरकारले प्रहरी खटाएको छ। अहिले राउटेको नयाँ बस्तीमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले शसस्त्र प्रहरी र जनपद प्रहरी गरि २२ जनाको सुरक्षा टोली खटाएको छ।
राउटे बस्तीमा प्रहरीले सुरक्षा दिन थालेसँगै अन्य समुदायका मानिसहरुले राउटेलाई मदिरा सेवन गराउने, टिकटक तथा युट्युब भिडियो बनाउने जस्ता क्रियाकलाप पूर्णरुपमा रोकिएको प्रहरीले जनाएको छ। राउटे बस्तीमा कसैलाई जानैपर्ने भएमा पूर्व अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि गुर्भाकोट ९ कै ३ जना युवाहरुले राउटे युवतीहरुलाई मदिरा सेवन गराई होटलमा लिएर अश्लिल भिडियो बनाएपछि राउटेको समुदायको सुरक्षा चासो बढेको हो। उनीहरु तीनैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।






