धनुषा। जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ। जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकार ढाल्न जसपाबाटै प्रयास शुरु भएको छ। राउतलाई मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन जसपाका अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको जनाईएको छ। 

सुमनलाई नेकपा (एमाले) को समर्थन रहने संभावना छ। प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा लागेका छन्। 

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकोमा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ।

जसपाका एकजना अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग तथा अर्का अध्यक्ष यादव प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा छन्। 

काँग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको र केन्द्रबाट आउने निर्देशनका आधारमा अघि बढ्ने बताए। 

कूल १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका तीन जना कारबाहीपछि अहिले १०४ सांसद छन्। तत्कालीन सङ्घीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ सांसद छन्। सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ।

अध्यक्ष यादव र उपसभापति निधिबीच प्रदेश नं २ को सरकार गठनबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनःगठनबारे छलफल भएको छ।

आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उनीहरुबीच प्रदेश र सङ्घको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको कांग्रेसहितका दलहरुको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं २ को सरकारमा कांग्रेसलाई सहभागी हुनसमेत आग्रह गरेका थिए।

उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै जसपाले प्रदेश नं २ को सरकारको नेतृत्व तीन वर्ष गरिसकेकाले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिन आग्रह गरेका थिए। अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

साथै उनीहरुबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताए। अध्यक्ष यादव आजै जनकपुर गएको र काठमाडौँ फर्केपछि सत्ता समीकरणका विषयमा थप छलफल हुनेछ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।