सुर्खेत। नृत्य कलाकार शेखर घर्तीमगरले ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन्। शेखरले निषेधाज्ञाका कारण खाद्यान्न अभाव भएका गुर्भाकोटका अति विपन्न परिवारलाई शुक्रवार मेहेलकुनामा राहत वितरण गरेका हुन्।

गुर्भाकोट नगरपालिकाको वडा नं ८ का स्थानीयवासी समेत रहेका शेखरले निषेधाज्ञाका कारण खाद्यान्न अभाव भएका आफ्नो टोल छिमेकका अति विपन्न परिवारहरूको छनौट गरि ४० घरधुरीलाई चामल, दाल, तरकारी, नुन, तेल लगायतका खाद्य सामाग्री वितरण गरेका हुन्।  जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै १ महिना भन्दा बढी समयदेखि सुर्खेतमा निषेधाज्ञा जारी गर्दै आएको छ। 

जारी निषेधाज्ञाका कारण ज्याला मजदुरी गरेर खाने मान्छेहरू रोगको सन्त्रासमा बस्दाबस्दै भोकले मर्न सक्ने अवस्था आएकाले आफूले राहतका लागि पहल गरेको शेखरले बताए। उनका अनुसार उनलाई राहत वितरणका लागि खजुरा ४ बाँके स्थायी घर भई हाल अमेरिकामा बसोवास गर्दै आईरहेका लिलबहादुर थापाले सहयोग गरेका हुन्। शेखरले समुदायमा आफ्नो व्यक्तिगत पहल र समन्वयमा सानै भएपनि परोपकारी काम गर्न पाउँदा सन्तोष व्यक्त गरे।

शेखर नेपालको डान्स रियालिटी शो छमछमी ३ का सेकेन्ड रनरअप तथा राष्ट्रिय खुला लोक नृत्य प्रतियोगिता २०७६ का विजेता समेत हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।