कास्की। राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। सभामुख नेत्रनाथ अधिकारीले बिहीवारको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए।

यसअघि थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

जनमोर्चाले थापालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो। थापाले पार्टी नीति विपरीत गण्डकी प्रदेश सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गरिएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए।

थापा पदमुक्त भएसँगै ६० सदस्यीय गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ। प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसद थिए। राष्ट्रिय जनमोर्चाले नेकपा एमालेबाहेकको दलको सरकारमा बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।