मेहेलकुना। कोरोना महामारीको दोश्रो भेरियन्ट शुरु भएयता जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा गुर्भाकोट नगरपालिकामा प्रभावहीन देखिएको छ। सरकारले बैंक मार्फत गत फागुनमै दिनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिले वितरण गर्न शुरु गरेपछि निषेधाज्ञा उल्लंघन गर्दै गुर्भाकोटका बैंकहरुमा भीडभाड बढेको हो।

गुर्भाकोटमा रहेका तीनओटा वाणिज्य बैंकहरु मध्ये ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा अत्यधिक भीड बढेको छ। गुर्भाकोटमै रहेको कुमारी बैंकले भने आगामी आईतवार देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ। बैंकहरुले सबै वडाका सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्न केही दिन लाग्न सक्ने जनाईएको छ। 

बैंकहरुले गेटबाट भित्र प्रवेश एकएक जनालाई मात्र दिएपनि बाहिर रहेका सेवाग्राहीहरु सामाजिक दुरी लगायतका स्वास्थ्य मापदण्ड पालना नगरिकनै पालो पर्खिरहेका छन्। बैंकहरुमा बढेको भीडका कारण विस्तारै मत्थर हुँदै जाने अपेक्षा गरिएको कोरोना संक्रमण फेरी फैलिन सक्ने चिन्ता बढेको छ।

संघीय सरकारको निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपले बैंक मार्फत भुक्तानी गर्नुपर्ने भएको र एकैपटक सबै सेवाग्राहीलाई बैंक खातामा जोड्नु परेकाले  फागुनमै दिनुपर्ने भत्ता वितरण गर्न ढिलाइ भएको गुर्भाकोट नगरपालिकाले जनाएको छ।

बैंकिङ च्यानलमा जानै पर्ने बाध्यकारी नियम र लामो समय देखि लाभग्राहीले सुरक्षा भत्ता नपाई जेष्ठ नागरिकहरुको जीवनयापनमै समस्या हुने भएपछि स्वास्थ्य मापदण्ड पालना गरि भत्ता वितरण गर्ने व्यवस्था मिलाउन गुर्भाकोटमा रहेका बैंकहरुलाई अनुरोध गरिएको उपप्रमुख मैना बिकले बताइन्। 

उपप्रमुख बिकका अनुसार बैंकहरुले भत्ता वितरण गर्दा सामाजिक दूरी र अन्य स्वास्थ्य मापदण्डको पालना गरेको नगरेको नगरपालिकाबाट अनुगमन समेत गरिने छ।

मङ्सिरदेखि सुरक्षा भत्ता नपाएका जेष्ठ नागरिकहरू मर्कामा परेपछि दैनिक १ सय जनाका दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरुको तयारी भएपनि लामो समय देखि भत्ता नपाएका जेष्ठ नागरिकहरु छिटो भन्दा छिटो भत्ता पाउने आशामा पहिलो दिन नै बैंकमा आएपछि भीड बढेको बैंकहरुले जनाएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।