धनगढी। नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन्। पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले  बताएका हुन्। एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने थापाले बताए। 

“हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ”, थापाले भने, “माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पार्टीले कारबाही गर्छ।” 

माओवादी केन्द्रले नेतृत्व गरेको  एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारमा अहिले एमालेका तीन मन्त्री रहेका छन्। एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्रीमा माया भट्ट छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन्। 

निवर्तमान सांसद रावलको पहलमा स्वास्थ्य सामग्री प्रदान

कैलाली क्षेत्र नं २ का निवर्तमान सङ्घीय सांसद झपटबहादुर रावलको पहलमा चार पालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका र टीकापुर नगरपालिकालाई अक्सिजन कन्सर्नटे«टर, अक्सिजन सिलिन्डर, पिपिई सेट, गम बुट, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको हो।

लम्की चुहालाई पिपिई सेट सय, अक्सिजन कन्सर्नटे«टर तीन, अक्सिजन सिलिण्डर नौ, स्यानिटाइजर छ थान, गम बुट २० जोडा, चस्मा ४० थान, सर्किजल मास्क तीन हजार ६०० थान, त्यसैगरी टीकापुरलाई अक्सिजन कन्सर्नटे«टर पाँच, स्यानिटाइजर आठ थान तथा मास्क दुई पेटी वितरण गरिएको छ।

त्यस्तै बर्दगोरियालाई पिपिई सेट ५०, अक्सिजन कन्सर्नटे«टर एक, अक्सिजन सिलिण्डर दुई, स्यानिटाइजर एक थान वितरण गरिएको स्वास्थ्य सामग्री वितरणमा समन्वय गरेका नेत्र भण्डारीले बताए। त्यस्तै लम्की चुहा अस्पतालका चिकित्सक प्रकाश तिमिल्सेनाले प्राप्त भएका स्वास्थ्य सामग्रीले बिरामीको प्रभावकारी उपचारमा सहयोग हुने भन्दै धन्यवाद व्यक्त गरे। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।