काठमाडौं। विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारले देश राष्ट्रपति र प्रधानमन्त्रीको मनपरितन्त्रमा चल्न थालेको बताएका छन्। शुक्रवार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि टिप्पणी गर्दै नेता परियारले पछिल्लो कदम ओली विद्या गुटको अचाक्ली प्रहसन भएको टिप्पणी गरे।

कोरोना महामारी नियन्त्रण गर्न छोडेर जनताका लाश गनेर बसेको ओली सरकारले चुनाव गराउँछु भन्नु नौटङ्की मात्र भएको उनको भनाई छ। जनताले अस्पतालमा बेड नपाएका बेला, एक सिलिन्डर अक्सिजन नपाएका बेला चुनाव गर्छु भन्दै आफ्नो सत्ता लम्ब्याउने खेलमा लाग्नु मानवता विरुद्धको अपराध भएको परियारले बताए।

ओली २१ औं शताब्दीका नयाँ तानाशाह भएको भन्दै परियारले अब यस्ता पात्र र प्रवृत्तिलाई राजनीतिबाट विस्थापित गर्न जनताले बिलम्ब गर्न नहुने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति संसद् विघटन गरि कार्तिक २७ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाली राजनीति तरंगित बनेको छ भने राष्ट्रपति र प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।