काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भाग २ भएको प्रतिक्रिया दिएका छन्। शुक्रवार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि नेता नेपालले प्रतिगमन दोहोरिएको टिप्पणी गरेका हुन्। 

नेपालले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई संकेत गर्दै षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चिरहरण भएको बताएका छन्। प्रधानमन्त्रीको यो कदम संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको उनको भनाई छ।

ओलीको यो व्यवस्था नै कू गर्ने अग्रसरता भएको र शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै नेता नेपालले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आह्वान गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार राति १ बजे प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन्। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।