काठमाडौं। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मध्यरातमा संसद् विघटन गर्नु संसदीय डकैती भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति दोश्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि खड्काले यसको प्रतिरोध गर्न अपिल गरेका छन्।

खड्काले नेपाली जनताका प्रतिनिधिले संविधानसभा मार्फत निर्माण गरेको संविधानको प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा चिरहरण गरिएको बताएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिका क्रियाकलापले लोकतन्त्र नै खतरामा परेको भन्दै खड्काले यसको कानूनी, राजनैतिक र जनस्तरबाट सबै तवरले प्रतिरोध गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार राति १ बजे प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन्। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।