काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशमा नयाँ जनआन्दोलन आवश्यक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति दोश्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि पाण्डेको यो टिप्पणी आएको हो।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको नयाँ सरकार गठनका लागि प्रतिपक्षको दाबी आउनासाथ प्रधानमन्त्री हतार- हतार शीतलनिवास पुगेर नक्कली दाबी गर्नु र राष्ट्रपतिले दुवैको दाबी पुगेन भन्नु भनेको संविधानको हत्या गर्ने नियत भएको पाण्डेले बताए।

प्रधानमन्त्री ओलीको सत्ता कब्जा गर्ने षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री र राष्ट्रपति मिलेर राष्ट्रपति संस्था र संसद्को हत्या गरिएको पाण्डेले दाबी गरे।पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमका विरुद्ध आफूहरू चुप नबस्ने बताए। अब पनि चुप बस्ने हो भने अलि अलि बाकी रहेको लोकतन्त्रलाई समेत यो प्रवृत्तिले सिध्याउने पाण्डेको भनाई छ।

प्रधानमन्त्रीको पछिल्लो कदमका कारण देशले नयाँ जनआन्दोलन खोजेको भन्दै पाण्डेले आफूहरू र आफ्नो पुस्ता आन्दोलनको लागी तयार भएको बताए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार राति १ बजे प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।