काठमाडौं। कांग्रेस पदाधिकारी बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। पदाधिकारी र पूर्व पदाधिकारीहरु सहित शुक्रबार देउवा निवासमा बसेको प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ।

काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ। राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको हो।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन्। प्रचण्डसँगै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन्।

बुढानिलकण्ठ श्रोतका अनुसार आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुनेछ। काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहित बस्ने बैठकले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्ने निष्कर्ष छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।