काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मजाक उडाएको बताएका छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको विषयमा शुक्रबार प्रतिक्रिया दिदैँ खड्काले यो मुलुकलाई द्वन्दमा लैजाने गम्भिर षड्यन्त्र भएको बताए।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत नलिई वा राजिनामा नगरी राष्ट्रपतिले धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गर्नु संविधानको मजाक उडाउनु भएको महामन्त्री खड्काको ठहर छ।

खड्काले संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढाउने व्यवस्था नभएको बताए। यो संविधानलाई ध्वस्त पार्ने र मुलुकलाई द्वन्दमा लैजाने गम्भिर षड्यन्त्र भएको उनको ठहर छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा चालिएको यो असंवैधानिक कदमको सबै तरिकाले प्रतिरोध गर्नपनि खड्काले सबैमा अपिल गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शुक्रवार अपरान्ह ५ बजे सम्मको समय तोकेर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा तय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले केही बेरमा सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ। बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ । 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।