काठमाडौं। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अमृत पुडासैनीले भोलि साँझ ५ बजे सम्म वैकल्पिक सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। बिहीवार न्यूजपाटीसँग कुरा गर्दै संवैधानिक कानुनका जानकार समेत रहेका पुडासैनीले भोलि ५ बजे भित्र चमत्कार भएको अवस्थामा बाहेक नयाँ सरकार बन्न नसक्ने दाबी गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भोलि साँझ ५ बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभाका सदस्यहरूलाई आह्वान गरेकी छन्।

यसअघि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुनसक्ने बलियो राजनीतिक आधार नदेखिएकोले मार्ग प्रशस्त गर्न भन्दै धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्री परिषदबाट निर्णय गरि राष्ट्रपतिकहाँ पठाएका थिए।

विवेकशील साझाका नेता पुडासैनीले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा मुलुक अब मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको संकेत गरे। 

वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसक्नु र विश्वासको मतको विपक्षमा समेत प्रतिनिधि सभामा तत्काल कायम सङ्ख्याको बहुमत नदेखिनु नै देश निर्वाचनको बाटोमा गएको भन्ने प्रष्ट आधार भएको दाबी गरे। 

धारा ७६ को उपधारा ३ बमोजिम गत बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले विश्वासको मत लिने पर्याप्त आधार नदेखिएको भन्नु र राष्ट्रपतिले १ दिन भन्दा पनि कम समय राखेर नयाँ सरकारका लागि आह्वान गर्नु आश्चार्यजनक भएको पुडासैनीले बताए। 

प्रधानमन्त्री ओलीले भोलि ५ बजेसम्म नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने अवस्था बुझेरै यो कदम चालेको पुडासैनीले दाबी गरे। पुडासैनीका अनुसार धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्री चयन हुन नसके धारा ७६ को उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिना भित्र अर्को प्रतिनिधि सभाको निर्वाचनको निर्वाचन सम्पन्न हुनेगरि मिति तोक्न सकिने छ।

छिटोछिटो परिवर्तन भैरहेका यी राजनीतिक दृष्यहरूलाई हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि आफ्नै नेतृत्वमा मध्यावधि निर्वाचन गराउने दाउमा रहेको भन्न सकिने पुडासैनीले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।