झापा। मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले रु. नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ। सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो।

बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ।

अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार निधन भएको छ। नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी थिए।

गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।