काठमाडौं। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु. चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ। मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो।

राष्ट्रियसभा निर्वाचनः ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौं। निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ। स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ। मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग र मास्कलाई अनिवार्य गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

कोभिड– १९ संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधि सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिने छ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्री तथा मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिने जनाइएको छ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधान स्वास्थ्य सुरक्षा मापदण्डमा छ।

कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सिसिटी गठन

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सिसिटी) गठन भएको छ। प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सहसंयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा पाँच सदस्यीय सिसिटी गठन गरेको हो। सिसिटीलाई सङ्क्रमित पत्रकारको सूचना सङ्कलन र विवरण एकीकृत गर्ने, सङ्क्रमितलाई परेको समस्या बुझ्ने र समाधानका लागि नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

सिसिटीले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जीविकोपार्जनमा समस्या भएका, जागिरबाट बिनाकारण निकालिएका पत्रकारको समस्या समाधानमा समेत सहजीकरण गर्ने प्रेस सङ्गठन नेपालका उपाध्यक्ष गोविन्द (सचिन) रोकाले बताए। बैठकमा सङ्गठन नेपालका उपाध्यक्ष कमल गिरीले पत्रकार स्वमंले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्ने बताए। महामारीमा सहयोगका नाममा पैसा उठाएर दुरुपयोग गर्ने प्रवृत्तितर्फ पत्रकारले चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिए।

प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्काले सबै मिलेर मात्रै महामारीसँग जुध्न सकिने बताए। प्रतिष्ठान प्रदेशका संयोजक वीरेन्द्र वलीले सिसिटीले पत्रकारको समस्या सहजीकरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बताए। बैठकले पत्रकारलाई सङ्क्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढङ्गले समाचार सम्प्रेषण गर्ने विषयमा सचेत रहन र सुरक्षाका मापदण्ड अपनाएर पत्रकारिता गर्न पनि आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।